महिलाको सक्रियतामा दुम्किबासमा जैविक मल उद्योग

जेष्ठ १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
महिलाको सक्रियतामा दुम्किबासमा जैविक मल उद्योग

काठमाडौं । माटोको उत्पादकत्व बढाउँदै रासायनिक मलमाथिको परनिर्भरता कम गर्न नवलपुरको विनयी त्रिवेणी सामुदायिक वनले जैविक मलको व्यवसायिक उत्पादन सुरू गरेको छ ।

वन क्षेत्रमा खेर जाने घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर महिला समूहकै सक्रियतामा विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबासमा जैविक मल कारखाना सञ्चालन गरिएको हो । 

मल उद्यमले महिलाहरूलाई रोजगारीमा पनि सघाएको छ । समूहले २ रूपैयाँ किलोमा हरियो झारपात किनेर त्यसको प्रशोधन गरी ९० दिनमा मल उत्पादन गर्दै आएको अध्यक्ष बालु पुरीले जानकारी दिनुभयो ।

वन पैदावार सङ्कलनमा जिल्लाका अरू वनबाट समेत झारपात संकलन गर्दा ८० जना महिलाहरूले रोजगारी पाएका छन । उत्पादित मल पालिकाभित्र प्रतिकिलो २० देखि २५ किलो रट्पैठयाँमा बिक्री गरिएको विनयी जैविक मल उद्योगकी व्यवस्थापक मिना पौडेलले बताउनुभयो । 

उहाँकाअनुसार विनयी त्रिवेणी गाउँपालिका-३ को वनबाट झाडी संकलन हुँदै आएको छ । समूहले गरिब तथा विपन्न २० घरपरिवारका महिलासहित ८० जना दिदीबहिनी झाडीको पात संकलनमा संलग्न छन ।

झाडी सफाइदेखि मल बनाउने र बजार व्यवस्थापनसम्मका काममा महिलाहरूकै सक्रियता छ । अध्यक्ष पुरीका अनुसार महिलाहरूले सिजनमा ४ घण्टा काम गर्दा १२ देखि १५ सय दैनिक कमाउने गरेका छन । यो वर्ष सामुदायिक वनले २५ मेट्रिक टन जैविक मल उत्पादन गर्दैछ ।

रासायनिक मल प्रयोग छाड्न सुरूमा प्रतिकठ्ठा १० किलोबाट सुरू गर्न सकिने र पछि प्रतिकठ्ठा २ किलोले पुग्ने उनीहरूको भनाइ छ । मल उत्पादन गर्न सरदर तीन महिना लाग्ने गरेको छ । मल उत्पादन भए बजारिकरणको समस्या पनि छैन । अधिकांश मल दुम्किबास आसपासकै बासिन्दा र गाउँपालिकाका किसानले किन्ने गरेका छन ।

तोरी, धान, मकै र तरकारी खेतिका लागि जैविक मल प्रयोग बढ्दै गएको स्थानीय हरिबहादुर राउतले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ र स्थानीय तहले समेत सघाएका छन । सामुदायिक वन उपभोक्ता महासंघका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले रासायनिक मलको बिगबिगी कम गर्न समुदायका महिलाहरूले थालेको उद्यम अनुकरणीय भएको बताउनुभयो ।

महिला सक्रियतामा जैविक मल उत्पादन उद्योग नै सञ्चालन सुरू भएपछि विनयी त्रिवेणी गाउँपालिकाले रासायनिक मल मुक्त पालिका बनाउने योजना समेत ल्याएको छ । 

समूहले वन उद्यम दर्ता गर्न कानुनी समस्या नभए देशैभर निर्यात गर्नेगरी मल उत्पादन गर्न सकिने जनाएको छ । महास‌ंघको कृषि वन सहज कार्यक्रममा संयोजक जनक आचार्यका अनुसार मल उद्योग सञ्चालनका लागि महिलाहरूलाई उपकरणमा फेकोफनले सहयोग गरेको छ ।

९ वटा सामुदायिक वनलाई उद्योगमा जोड्ने र लगानी बढाउने तयारी उद्योगले गरेको छ । अब उत्पादनको आफ्नै ब्राण्ड बनाउने र नीजी जग्गा किनेर व्यवसायिक रुपमै मल उद्योग विस्तार गर्ने योजना विनयी त्रिवेणी सामुदायिक वनको छ । 

 १८४ हेक्टरमा फैलिएको विनयी त्रिवेणी सामुदायिक वनमा दुई सयभन्दा धेरै घरधुरीका उपभोक्ता आवद्ध छन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.