काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डीडीसी) अन्तर्गतका कर्मचारीहरूले लिँदै आएको दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यूको सुविधा आजदेखि कटौती गरेको छ । दुग्ध किसानहरूलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्था लगायतका कारण यो सुविधा कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ ।
अन्य सार्वजनिक सस्थानहरूमा पनि संस्था घाटा नोक्सानीमा गएका बेला सुविधा नलिने अभ्यास रहेको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्ध पदार्थ बिक्री गरी आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुविधा कटौती जरुरी रहेको ठहर गरेको छ ।
यसअघि मन्त्रालयले संस्थान व्यवस्थापन समक्ष खाईपाई आएको सेवा सुविधाको जानकारी मागेको थियो ।
आजै मन्त्रालयले संस्थानको महाप्रबन्धकमा सहसचिव जगदीश पाण्डेलाई पठाएको छ ।