नेविसंघ कार्यकर्ताद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

जेष्ठ १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेविसंघ कार्यकर्ताद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट विभिन्न क्याम्पसमा स्ववियुमा निर्वाचित पदाधिकारी तथा कार्यकर्ताहरूले आज त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गरेका छन् । स्नातक तहको भर्ना खोल्नुपर्ने माग राखेर विश्वविद्यालय पुगेका नेविसंघ निकट विद्यार्थी समूहले निमित उपकुलपति प्राध्यापक खड्ग केसीको सचिवालयमा तोडफोड गरेको हो ।

तर त्यसबेला निमित उपकुलपति केसी भने कार्यकक्षमा हुनुहुन्नथ्यो । आक्रमणबाट उपकुलपतिको सचिवालयको कुर्ची, टेबल लगायतका सामानमा क्षति पुगेको विश्वविद्यालयले जनाएको छ । घटनालगत्तै प्रहरीले हस्तक्षेप गरी थप क्षति हुनबाट जोगाएको थियो । स्नातक तहको तत्काल भर्ना नखोलिए धेरै विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित हुने भन्दै उनीहरूले विश्वविद्यालयका पदाधिकारीसमक्ष भर्ना खोल्ने वातावरण बनाउन माग गरेका छन् ।

यसका साथै समाजशास्त्र विभाग प्रमुखको अन्तवार्ता रोक्नुपर्ने र आफ्ना मान्छे नियुक्ति गर्नुपर्ने भन्दै धम्की समेत दिने गरेको उपकुलपति कार्यालयले जनाएको छ । जसले गर्दा उपकुलपतिको निजी निवासमा समेत प्रहरीले सुरक्षा दिनुपरेको प्राध्यापक केसीले जानकारी दिनुभएको छ ।

यसअघि पनि विद्यार्थीको समूहले केसी नै शिक्षाध्यक्ष रहेका बेला उहाँको कार्यकक्षमा समेत तोडफोड गरेको थियो । त्यसबेला पनि घटनामा संलग्नलाई कारबाही गर्न माग गरे पनि कुनै सुनुवाइ नभएको शिक्षाध्यक्ष कार्यालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.