आईपीएल प्लेअफमा पुगेका चार टोलीको चर्चा

जेष्ठ १४, २०८२ |सुवास रोकाया
आईपीएल प्लेअफमा पुगेका चार टोलीको चर्चा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरण सकिएको छ । प्लेअफका खेल भोलि सुरु हुँदैछन् । लिगका ७० खेलपछि पञ्जाबले अंक तालिकामा पहिलो स्थान हासिल गर्‍यो भने बैंगलुरु दोस्रो स्थानमा रहँदा गुजरात र मुम्बई क्रमशः तेस्रो र चौथो स्थानमा रहे । 

अब पहिलो क्वालिफायर्समा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु प्रतिस्पर्धा गर्ने छन् । यो खेल जित्ने टोली फाइनलमा पुग्ने छ । पराजित टोलीले क्वालिफायर-२ मा एलिमिनेटरको विजेतासँग भिड्नेछ । एलिमिनेटर मे ३० मा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच हुनेछ । यहाँ प्लेअफमा पुगेका चार टोलीबारे चर्चा गरिएको छ ।

१४ खेलमा ९ जितसहित १९ अंक जोडेको पञ्जाब किंग्स लिग चरण शीर्ष स्थानमा रह्यो । पछिल्लो दशक खास प्रदर्शन गर्न नसकेको पञ्जाब यस पटक भने शानदार लयमा छ । पञ्जाब आईपीएलका सबै अर्थात् १८ वटै सिजनमा सहभागी छ । पहिलो सिजन युवराज सिंहको कप्तानीमा सेमिफाइनल पुगेको टोलीलाई चेन्नई सुपर किंग्सले ९ विकेटले हराएको थियो । त्यसपछिका ५ सिजन लिग चरणमै बाहिरियो । २०१४ मा जर्ज बेलीको कप्तानीमा फाइनल पुगे पनि कोलकाता नाइट राइडर्ससाग ३ विकेटले पराजित हुन पुग्यो । २०१४ पछि पञ्जाब पहिलो पटक प्लेअफमा पुगेको हो ।

यो सिजन ओपनर प्रभसिमरन सिंह र प्रियांश आर्यले संयुक्तरूपमा १७३.४९ को स्ट्राइक रेटमा ९२३ रन बनाएका छन् । जसमा १ शतक र ६ अर्धशतक सामेल छन् । पञ्जाबका लागि शीर्ष क्रमका ३ ब्याटरले १४ सय १८ रन बनाएका छन् । प्रभसिमरन र प्रियांशको ओपनिङ जोडीले यस सिजन कुनै पनि अनक्याप्ड भारतीय खेलाडीभन्दा राम्रो प्रदर्शन गरेको छ । श्रेयस अय्यरको कप्तानी र रिकी पोन्टिङको कोचिङले टोलीलाई बलियो बनाएको छ । अय्यरले ५ अर्धशतकसहित ५१४ रन बनाएका छन् ।

मे २६ पछि मार्को यानसन आईपीएलका लागि उपलब्ध नहुँदा टिमको बलिङ भने कमजोर देखिन्छ । डेथ ओभरमा विकल्पको कमी छ । सोही कारण उसले अर्शदीप सिंहलाई साथ दिने बलर खोज्नुपर्ने छ । लकी फर्ग्युसन र अजमतुल्लाह ओमरजईले अहिलेसम्म समान ५-५ विकेट मात्र लिएका छन् । चोटका कारण फर्ग्युसन यसअघि नै टिमबाट बाहिर भइसकेका छन् । उनलाई प्रतिस्थापन गरेका काइल ज्यामिसनको प्रदर्शन चिन्ताको विषय बनेको छ ।

रोयल च्यालेन्जर्स बैंगलुरुले पनि १४ खेलमा ९ जितसहित १९ अंक जोडेर लिग समाप्त गरेको थियो । २००८ मा लिग चरणबाट बाहिरिएको आरसीबीले २००९, २०११ र २०१६ मा फाइनल खेले पनि उपाधि जित्न सकेको छैन । यस पटक भने सात वटै अवे खेल जितेर इतिहास रचेको आरसीबी पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

विराट कोहलीले १३ खेलमा ८ अर्धशतकसहित ६०२ रन बनाएका छन् । फिल सल्ट र जितेश शर्माले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । प्लेअफका लागि फास्ट बलर जोश हेजलवुड उपलब्ध हुने छन् । उनले १० खेलमा १८ विकेट लिइसकेका छन् ।

रजत पाटीदार र टिम डेभिडको चोटले टोलीलाई असर पर्न सक्छ । सुयश शर्मा र क्रुणाल पाण्डे मिडिल ओभरमा महँगा साबित भएका छन् । टिमले भुवनेश्वर कुमार र रोमारियो सेर्फडबाट राम्रो बलिङ प्रदर्शनको अपेक्षा गरेको छ ।

गुजरात टाइटन्सले १४ मध्ये ९ खेल जिते पनि अन्तिम दुई खेलमा र चेन्नईसँग हार बेहोरेपछि शीर्ष स्थानको मौका गुमायो र तेस्रो स्थानमा रहेर लिग समाप्त गर्‍यो । विगतको कुरा गर्दा सन् २०२२ मा डेब्यू सिजनमै हार्दिक पाण्ड्याको कप्तानीमा च्याम्पियन बनेको गुजरात २०२३ मा उपविजेता हो । २०२४ मा शुभमन गिल कप्तानीमा ८ औं स्थानमा रहेपछि लिग चरणबाटै बाहिरिएको थियो ।

यस सिजन गुजरातका शीर्ष ३ ब्याटरले १८ सय ६६ रन बनाएका छन् । जसमा १ शतक र १६ अर्धशत सामेल छन् । कप्तान गिलसहित अन्क्याप्ट साई सुदर्शनको प्रदर्शन शानदार छ । बलिङमा प्रसिद्ध कृष्णाले २३ विकेट र साई किशोरले १७ विकेट लिएका छन् । तर जोस बटलर राष्ट्रिय टोलीको जिम्मेवारीका कारण उपलब्ध नहुँदा सुदर्शन र गिलले पछिल्ला दुई खेलमा अर्धशतक बनाउन सकेका छैनन् । राशीद खानको बलिङ यस सिजन चल्न सकेको छैन ।

सुरुआती ५ मध्ये ४ खेल हारेको मुम्बईले लगातार ६ खेल जितेर कमब्याक गर्‍यो । १६ अंकसहित चौथो स्थानमा रहेको मुम्बई इतिहास रच्ने लक्ष्यमा छ । ५ उपाधि जितेको मुम्बई आईपीएलको सबैभन्दा सफल टोली हो । मुम्बई २०१३, २०१५, २०१७, २०१९ र २०२० मा च्याम्पियन बनिसकेको छ ।

यस सिजन सूर्यकुमार यादवले ५ अर्धशतकसहित ६४० रन बनाइसकेका छन् । रोहित शर्मा र रायन रिकेल्टन राम्रो लयमा हुँदा कप्तान हार्दिक पाण्ड्या फिनिसरको भूमिकामा छन् । ट्रेन्ट बोल्टले १९ र जसप्रित बुमराह १७ विकेट लिएर विश्वस्तरीय प्रदर्शन गरेका छन् । मुम्बईले यस सिजिनमा १८० भन्दा माथिको रनको स्कोर चेज गर्न सकेको छैन ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।