काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति लचिलो नीति लिएको भोलिपल्टै बजार बढ्नुको साटो घटेको छ । शेयर बजारमा जाने कर्जा बढाउने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरे पनि शेयरमा पूँजीगत लाभकर बढ्ने हल्लाका भरमा बजार घटेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार साँझ मौद्रिक नीतिको समीक्षा गर्दै शेयर कर्जामा यसअघि १२५ प्रतिशत जोखिम भार राखिएकोमा त्यसलाई संशोधन गर्दै १ सय प्रतिशत कायम गरेको थियो । जोखिम भएका क्षेत्रमा धेरै र कम भएका क्षेत्रमा थोरै जोखिम भार तोकिन्छ । जोखिम भार घटाएसागै सेयरबजारमा बैंकहरूको कर्जा बढाउन सहज हुने भए पनि लगानीकर्तामा बजेटमार्फत कर बढ्ने हो कि भन्ने आशंकाले गर्दा सोमबार बजार घटेको विश्लेषकहरू बताउँछन् ।
अहिले लगानी बढ्न नसकेका कारण ७ खर्ब रुपैयाँ बैंकमा थुप्रिएर बसेको छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसकेका बेला राष्ट्र बैंकले भने शेयर बजारमा लचिलो हुँदै कर्जा बढाउने नीति अंगिकार गरेको छ ।
शेयर बजारमा जाने कर्जा पनि बढ्न सकेको छैन । राष्ट्र बैंकले शेयर बजारमैत्री नीति अंगिकार गरेपछि बजार खुले लगत्तै आइतबारको तुलनामा ६६ अंकले बढेको थियो । तर, बन्द हुँदासम्म परिसूचक ५.२१ अंकले घट्यो ।