काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपालमा उत्पादित चिया निर्यातका लागि प्रयोगशालाहरुको स्तरोन्नति तथा उत्पादन बढाउने नीतिमा सहयोग गर्न सरकारसँग माग गरेका छन् । २९औं राष्ट्रिय चिया दिवसको कार्यक्रममा व्यवसायीहरुले अर्ग्यानिक प्रमाणीकरणमा सहयोग पुर्याए अहिलेको निर्यातलाई दोब्बर बनाउन सकिने बताए । योसँगै आन्तरिक बजार प्रवर्द्धन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा मात्र होइन, पछिल्ला वर्षहरुमा नेपालमा पनि सिटिसी चियाको माग बढेको छ । शहरमा मात्र होइन, गाउँगाउँसम्म चिया पिउनेहरु बढेका छन् । अझ शहरमा नयाँ-नयाँ ब्राण्डमा आउटलेट खोल्ने क्रम चलेको छ । पारखीहरुका लागि विभिन्न स्वादका चिया पाइन्छ ।
आन्तरिक बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली चियाको माग उच्च छ । नेपालको अर्थोडक्स चिया अमेरिकाको स्टार बक्सदेखि जापानको एयरलाइन्ससम्म खपत हुन्छ । पछिल्ला ९ महिनामा ३ अर्ब ५७ करोडको चिया निर्यात भएको सरकारी तथ्यांक छ । नेपालबाट ९० प्रतिशतभन्दा धेरै चिया भारतमा निकासी हुने गरेको छ । अर्ग्यानिक प्रमाणीकरण गर्न प्रयोगशालाहरुको स्तरोन्नति गर्ने सके निर्यात दोब्बर गर्न सकिने चिया उद्यमी बताउँछन् ।
सरकारले पनि पछिल्ला वर्षहरुमा नेपाली चियाको ब्रान्डिङ भइरहेको र अर्थोडक्स चियाको निर्यातमा आवश्यक सहजीकरण गरिरहेको छ । अझ आउँदा दिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला स्तरोन्नति गरी चिया निर्यात हुने देशका प्रयोगशालासँग सामान्जस्यता गराउने तयारी सरकारको छ । निर्यात बढाउन व्यवसायीसँग सहकार्य गर्न पनि सरकार तयार देखिएको छ ।
कृषिजन्य वस्तुमा मात्रै पनि बर्सेनि नेपालको व्यापार घाटा ३ खर्बभन्दा माथि छ । अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएका चिया जस्ता कृषिजन्य वस्तुको उत्पादन बढाएर धेरैभन्दा धेरै निर्यात गर्न सके व्यापार घाटा कम गर्न सकिने देखिन्छ ।
नेपालमा करिब २१ हजार हेक्टरमा चिया खेती हुने गरेको छ । वार्षिक करिव पौने २ करोड केजी चिया उत्पादन हुन गरेको छ । २० हजारभन्दा धेरै किसान तथा उद्यमी चिया उत्पादन तथा प्रशोधनमा संलग्न छन् ।