त्रिभुवन आर्मी क्लब एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेटको फाइनलमा पुग्यो

वैशाख १५, २०८२ |महाप्रसाद खतिवडा
त्रिभुवन आर्मी क्लब एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेटको फाइनलमा पुग्यो

मोरङ । विभागीय टोली त्रिभुवन आर्मी क्लब एमएम कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगरमा जारी तेस्रो संस्करणको प्रतियोगिता अन्तर्गत आजको खेलमा आर्मीले बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । डिफेन्डिङ च्याम्पियन आर्मीले अघिल्लो खेलमा एपीएफलाई पराजित गरेको थियो ।

दुवै खेलमा हारपछि बागमती तथा एक जित र एक हार बेहोरेको एपीएफ समूह चरणबाटै बाहिरिएका छन् । वर्षाका कारण वैजनाथपुर क्रिकेट मैदानको आउटफिल्ड भिजेकाले ढिला सुरु भएपछि २६ ओभरमा छोट्याइएको खेलमा आर्मीले पहिले फिल्डिङ रोज्यो । 

यता, बागमतीले २४ ओभर ३ बलमा ९६ रन जोडेर सबै विकेट गुमायो । बागमतीको ब्याटिङमा सचिन लेखकले सर्वाधिक ३४ रन योगदान दिए । प्रतीक श्रेष्ठले १५ र आदील खानले १० रन बनाए । आर्मीको बलिङमा देब्रे हाते स्पिनर नरेन साउदले सर्वाधिक ५ विकेट लिए । लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच घोषित भएका साउदले ६ ओभरमा एक मेडन ओभर गर्दै १९ रन खर्चिए । दुर्गेश गुप्ताले २ विकेट लिए । 

बागमतीले दिएको ९७ रनको लक्ष्य आर्मीले १७ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि निश्चल क्षेत्रीले सर्वाधिक ४६ रन बनाए । यसक्रममा उनले ५५ बलमा ८ चौका प्रहार गरे । हिमांशु दत्ताले १८ रन बनाए । बागमतीका लागि दयानन्द मण्डलले २ विकेट, तिलकराज भण्डारी र आदील खानले समान १/१ विकेट लिएका थिए । 

प्रतियोगिता अन्तर्गत भोलि समूह-बीको कोशी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा ६ टिम सहभागी छन् ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।