काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वबीच भएको सहमतिअनुसार सरकारले गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न कायममुकायम गभर्नर निलम ढुंगानालाई निर्देशन दिएको छ । ढुंगानालाई आज साँझ अर्थ मन्त्रालयमा बोलाएर मन्त्री विष्णु पौडेलले यस्तो निर्देशन दिनु भएको हो ।
भट्टले ९ दिनअघि नै राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएको भए पनि अहिलेसम्म ढुंगानाले स्वीकृत गर्नुभएको छैन । चैत २५ देखि गभर्नर पद खाली भए पनि नियुक्तिका लागि प्रक्रियासमेत अघि बढ्न सकेको छैन । गभर्नर पद खाली भएको तीन साता बित्दा पनि सरकारले नियुक्त गर्न नसकेपछि राष्ट्र बैंकले आज आफ्नो ७०औं वार्षिकोत्सव गभर्नरबिना मनाउनुपर्यो ।
सरकारले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समितिलाई समेत पूर्णता दिन सकेको छैन । समिति गठन भएको एक महिना बित्दासम्म कामै अघि बढ्न नसकेपछि समितिका एक सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्ति प्रक्रिया अवरुद्ध भएको हो । गभर्नर नहुँदा राष्ट्र बैंकले आफ्नो ७०औं वाषिर्कोत्सव कायममुकायम गभर्नरको उपस्थितिमा मनाएको हो । कार्यक्रममा राष्ट्र बैंकका कर्मचारीहरुले समेत सरकारले तत्काल गभर्नर नियुक्त गर्नुपर्ने धारणा राखेका थिए ।
सरकारले अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा सिफारिस समिति गठन गरेपछि समितिलाई बेवास्ता गर्दै नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति गरेको विषय सार्वजनिक भएको थियो ।
नेताहरुको आश्वासनपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पदबाट राजीनामा दिए पनि कामु गभर्नर निलम ढुंगानाले अहिलेसम्म स्वीकृत गर्नुभएको छैन । ढुंगानाले भट्टको राजीनामा रोक्दा गभर्नर नियुक्ति नै गिजोलिएको विज्ञहरुको भनाइ छ ।
मुलुक आर्थिक शिथिलतामा रहेका बेलामा दलहरुले भने गभर्नर नियुक्तिलाई राजनीतिक हानथापको विषय बनाएका छन् ।