काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने बताउनुभएको छ ।
नेपाली कांग्रेसको उद्योग तथा व्यापार समितिले आज उद्योगी तथा व्यापारीसँग गरेको अन्तर्क्रियामा सभापति देउवाले अबको बजेटले निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन गर्ने बताउनुभयो । व्यापारीले व्यापार गर्नुपर्ने र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने भन्दै उहाँले सरकारले व्यापार-व्यवसाय नगर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आमनागरिकमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी तथा असन्तोष रहेको बताउनुभयो । असन्तुष्टि र बेचैनीको मुख्य कारण आमनागरिकको अवस्थामा परिवर्तन नआउनु रहेको उहाँको भनाइ थियो ।
महामन्त्री थापाले अर्थतन्त्रमा देखिएका समस्या र संकट समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।