कोशी प्रदेश सरकारद्वारा लगानी सम्मेलन लक्षित गर्दै ८ वटा कानुन संशोधनको तयारी

वैशाख १५, २०८२ |महाप्रसाद खतिवडा
कोशी प्रदेश सरकारद्वारा लगानी सम्मेलन लक्षित गर्दै ८ वटा कानुन संशोधनको तयारी

मोरङ । कोशी प्रदेश सरकारले लगानी सम्मेलन तयारी तीव्र पारेको छ । त्यसका लागि कोशी सरकारले ८ वटा कानुन संशोधन गर्दैछ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी नेतृत्वमा लगानी आकर्षित गर्न सम्भावित अड्चनको गाँठो फुकाउने गरी कानुन संशोधनको काम अघि बढेको हो । लगानी सम्मेलनका लागि ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने प्रक्रिया अगाडि बढेको कोशी लगानी प्राधिकरणले जनाएको छ । एकद्वार प्रणालीमार्फत लगानीकर्ताहरूलाई सहज वातावरण दिलाउने गरी कानुन बन्ने पनि प्राधिकरणले प्रष्ट पारेको छ ।

कोशी प्रदेश सरकारले वन ऐन, वातावरण संरक्षण ऐन, पर्यटन ऐन, औद्योगिक व्यवसाय ऐन, कृषि ऐन, प्रदेश सवारी ऐन र लगानी प्राधिकरण ऐनमा संशोधन गर्न लागेको हो । 

संघीय वातावरण ऐन, २०७६ संशोधन भई यससम्बन्धी अधिकार प्रदेशमा आएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) र वातावरणीय प्रभाव मूल्याङ्कन ईआईएलाई पनि सहज गर्ने तयारी छ । 

कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलनका लागि ५४ वटा परियोजना छनोट गरिएको र ती परियोजनामा १ खर्ब ३९ अर्ब लगानीको सम्झौता गर्ने कोशी सरकारको लक्ष्य छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।