
काठमाडौं । गर्मी बढेसँगै भारतबाट रातको समयमा बिजुली आयात नहुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ बढ्न थालेको छ । आयात प्रभावित हुँदा ५ दिनदेखि रातको समयमा उद्योगमा बिजुली दिन नसकिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
चैत १५ देखि रातमा पनि बिजुली दिएको भारतले गर्मी बढेसँगै नेपालमा विद्युत् निर्यात कटौती गरेर ७० मेगावाटमा झारेको छ । उद्योगमा लोडसेडिङ भए पनि घरघरमा बिजुली पुर्याउन भने समस्या नहुने प्राधिकरणको भनाइ छ ।
अहिले बिजुलीको उच्च माग हुने समयमा नेपालमा २ हजार ३८ मेगावाट आवश्यक छ । विद्युत् प्राधिकरणका आयोजनाबाट ४७४ र सहायक कम्पनीबाट ५२० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । यसबाहेक निजी कम्पनीको ६३४ मेगावाट छ । बिजुलीको उच्च माग हुने समयमा भारतबाट बिजुली आउन नसक्दा उद्योगमा पठाउने ३७२ मेगावाट अपुग छ ।
भारतले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली दिने नीति अपनाएको भए पनि पछिल्लो समय सरकारको आग्रहमा चैत १४ पछि रातको समयमा ६ सय मेगावाटसम्म बिजुली आएको थियो । तर भारतमै खपत बढ्दा नेपालमा निर्यात कटौती गरेको हो ।