आईपीएलको शीर्ष स्थानमा उक्लियो बेंग्लुरु

वैशाख १५, २०८२ |खेल ब्युरो
आईपीएलको शीर्ष स्थानमा उक्लियो बेंग्लुरु

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै आरसीबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

अरुण जेटली स्टेडियममा आरसीबीले टस जितेर फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको घरेलु टोली दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १६२ रनको योगफल तयार पारेको थियो । ओपनर अभिषेक पोरेल २८ र करूण नायर ४ रनमा आउट भए । अर्का ओपनर फाफ डु प्लेसिस २२ रन मात्र बनाउन सके । कप्तान अक्षर पटेल १५ र केएल राहुल ४१ रनमा आउट भए आशुतोष शर्मा २ रनमा पभिलियन फर्किए । ट्रिस्टान स्टब्सले १८ बलमा ३४ रनको योगदान दिए । आरसीबीका लागी भुवनेश्वर कुमारले ३ तथा जोश हेजलउड २ विकेट हात पारे ।

जवाफमा १६३ रनको लक्ष्य आरसीबीले १८ ओभर ३ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । खराब सुरुआत गरेको आरसीबीले २६ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । ओपनर ज्याकब बेथेल १२ रन बनाए । देवदत्त पाडिक्कल डकआउट हुँदा कप्तान रजत पाटिदार ६ रनमा बाहिरिए । विराट कोहली र क्रुनाल पाण्ड्याले चौथो विकेटको लागि ११९ रनको साझेदारी गर्दै जितको आधार बनाए । 

यो जारी सिजनमा चौथो विकेट वा सोभन्दा तल्लो क्रममा भएको सर्वाधिक ठूलो साझेदारी हो । विराट ५१ रनमा आउट भए । क्रुनालले ४७ बलमा ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७३ रन जोडे । टिम डेविडले ५ बलमा १९ रन बनाए । दिल्लीका लागि अक्षर पटेलले २ विकेट लिए । यससँगै आरसीबीले जारी सिजनमा लगातार छैटौं पटक घरेलु मैदानमा जित हासिल गर्यो ।

१० खेलबाट १४ अंक बनाउादै आरसीबी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ९ खेलमा दिल्लीको १२ अंक छ । उसले ६ जित र ३ हारको सामना गरेको छ ।