काठमाडौं । इङ्लिस प्रिमियर लिग (ईपीएल) को उपाधि लिभरपुलले जितेको छ । अनफिल्डमा ६४ हजारभन्दा बढी दर्शकमाझ टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो ।
पछिल्ला पाँच वर्षमा दोस्रो पटक च्याम्पियन बनेको लिभरपुलले सर्वाधिक २० औं पटक प्रिमियर लिगको उपाधि जित्दै म्यानचेस्टर युनाइटेडको कीर्तिमान बराबरी गर्यो । आर्ने स्लटको टोलीलाई उपाधि सुनिश्चित गर्न एक अंक मात्र आवश्यक थियो । तर टोटनहमविरुद्ध फराकिलो जित हात पारेपछि लिभरपुल च्याम्पियन बन्यो । उसले लिगमा ४ खेल अझै खेल्न बाँकी छ । स्लटले आफ्नो पहिलो सिजनमै कठिन चुनौतीलाई सजिलै पार गर्दै लिभरपुललाई एकतर्फी रूपमा उपाधि जिताउन सफल भए । उनका लागि जर्गेन क्लोपपछि नेतृत्व सम्हाल्नु चुनौतीपूर्ण थियो । तर स्लटले संयम र स्पष्ट रणनीतिद्वारा उत्कृष्ट परिणाम निकाल्दै समर्थकहरूको मन जित्न सफल भए ।
खेलको १२ औं मिनेटमा लिभरपुलका पूर्व स्ट्राइकर डोमिनिक सोलाङ्केको गोलमार्फत टोटनहमले अग्रता लिएपछि लिभरपुल केही तनावमा देखिएको थियो । १६ औं मिनेटमा लुइस डियाजले डोमिनिक सोबोसलाइको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । सुरुआतमा अफसाइडको आशंका गरिएको भए पनि भीएआरले गोललाई मान्यता दियो । २४ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले टचलाइन बाहिरबाट शानदार प्रहार गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा कोडी गाक्पोले सहज तरिकाले बल नियन्त्रण गर्दै तेस्रो गोल गरे र अनफिल्डमा खुशीको लहर फैलियो ।
दोस्रो हाफमा लिभरपुलले आक्रमणलाई थप तीव पार्यो । मोहम्मद सलाहले ६३ औं मिनेटमा टिमका लागी चौथो गोल थपे । गोलपछि उनले समर्थकहरूसँग सेल्फी खिचेका थिए । ६९ औं मिनेटमा टोटनहमका डिफेन्डर डेस्टिनी उदोगीले आत्मघाती गोल गरे गरेपछि लिभरपुलले उपहार गोल पायो ।
यो जितसँगै लिभरपुल ३५ वर्षपछि आफ्ना समर्थकहरूको अगाडि प्रिमियर लिगको उपाधि जित्न सफल भयो । लिभरपुलले घरेलु मैदानमा सन् १९९० मा क्वीन्स पार्क र्याङ्गर्सलाई हराउँदै च्याम्पियन बनेको थियो । २०२० मा कोरोना महामारीका कारण खाली रंगशालामा उपाधि जितेको लिभरपुलका लागि यो मौका निकै विशेष रह्यो । खेलअघि नै अनफिल्ड वरिपरि नारा लगाउँदै हजारौं समर्थकहरू भेला भएका थिए ।