पाल्पा । जंगलमा लागेको डढेलो निभाउन गएको जीप पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई जना घाइते भएका छन् ।
रैनादेवी छहरा गाउँपालिका- १ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउने जाने क्रममा भएको दुर्घटनामा परी स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक (सुनार) र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको हो । बुढामगर र सुनारको घटनास्थलमै मृत्यु भएको हो भने रेगामीको उपचारका लागि पाल्पा सदरमुकाम तानसेन लैजाँदै गर्दा मृत्यु भएको वडाध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिनुभयो ।
लु१ज २३७७ नम्बरको जीपमा सवार २७ वर्षीय रञ्जन रेश्मी मगर र २३ वर्षीय सोनु (सरोज) बुढा घाइते भएका छन् । घाइतेमध्ये रेश्मीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि झन्डै १५० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् ।
जीप सर्वोत्तम खानी हुँदै ठूलो पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।