काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । हिजो प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १२ सय रुपैयाँले बढेको हो । अमेरिका र चीनबीच बढ्दो व्यापार तनावको असर सुनको मूल्यमा परेको व्यवसायी तेजरत्न शाक्यले बताउनुभयो ।
मूल्य बढ्दा बिक्री पनि घटेको छ । विगतमा दैनिक २० किलोसम्म सुन खपत हुने गरेको आन्तरिक बजारमा अहिले दैनिक ५ देखि ७ किलो मात्र खपत भइरहेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।