बागमती प्रदेशमा चालु आवको चैत्र सम्ममा ३२ प्रतिशत मात्र बजेट खर्च

वैशाख ८, २०८२ |बालकृष्ण अधिकारी
बागमती प्रदेशमा चालु आवको चैत्र सम्ममा ३२ प्रतिशत मात्र बजेट खर्च

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत्र सम्ममा ३२ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेको छ । 

कुल ६४ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमध्ये  पुँजीगततर्फ १० अर्ब ४९ करोड र चालुतर्फ १० अर्ब ४९ करोड गरी जम्मा २० अर्ब ९८ करोड रुपैयाँ बजेट मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ४३ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको ३७ प्रतिशत, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयले ३६ प्रतिशत बजेट खर्च गरेका छन् । यसैगरी, सामाजिक विकास मन्त्रालयको ३५  प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयको २९ प्रतिशत बजेट खर्च भएको छ ।

मुख्यमन्त्री कार्यालयको २७ प्रतिशत बजेट खर्च हुँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २१ प्रतिशत मात्र बजेट खर्च गरेको छ । बागमती प्रदेश सरकारले यस आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेको छ । 

आर्थिक वर्षको अन्त्यमा रकम भुक्तानी हुने हुँदा यस वर्ष ७० प्रतिशतभन्दा माथि बजेट खर्च हुने मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जनाउनु भयो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।