काठमाडौं । नयाँ वर्ष २०८२ साललाई लक्षित गर्दै पर्यटन व्यवसायीले विभिन्न प्याकेज र अफर सार्वजनिक गरेपछि मुख्य पर्यटकीय गन्तव्यहरू भरिभराउ भएका छन् । पर्यटकीय गन्तव्यहरूमा बाह्यसँगै आन्तरिक पर्यटक पनि उत्तिकै पुगेका छन् ।
पर्यटकका लागि मुख्य आकर्षण गन्तव्य पोखरा, चितवन, लुम्बिनी, भक्तपुर, धुलिखेल, नगरकोट, बर्दिया, रारा, इलाम लगायतका ठाउँका होटलहरूमा पर्यटकको घुइँचो छ । यहाँका होटलहरूमा उत्साहजनक बुकिङ भएको व्यवसायीहरूले बताएका छन् ।
पोखरामा नयाँ वर्ष लक्षित गर्दै फेवा महोत्सव आयोजना गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने लुम्बिनीमा पनि नयाँ वर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन व्यवसायीहरूले विभिन्न कार्यक्रम गरेका छन् ।
काठमाडौंको नजिकका गन्तव्य धुलिखेल र नगरकोटमा पनि नयाँ वर्षमा पर्यटक तान्न सांगीतिक कार्यक्रम भइरहेका छन् । यहाँका होटलहरूमा अग्रिम बुकिङ पनि उत्साहजन रहेको व्यवसायीहरूले बताएका छन् ।
नयाँ वर्षमा हिमाली क्षेत्रमा पनि पर्यटकको चहलपहल र बुकिङ बढेको छ । मनाङ, मुस्ताङको मुक्तिनाथ, मुगुको रारा लगायतका स्थानमा पनि नयाँ वर्ष मनाउन पर्यटकहरूको अग्रिम बुकिङ निकै राम्रो देखिएको छ । अहिले मुख्य पर्यटकीय क्षेत्रका होटलको बुकिङ ९० प्रतिशतसम्म पुगेको छ । केही ठाउँमा त शतप्रतिशत बुकिङ भइसकेको व्यवसायीहरूले बताएका छन् ।