मरिचका लहरा सुक्न थाले, खेती नै मासिने चिन्ता

चैत्र २९, २०८१ |रमा दाहाल
मरिचका लहरा सुक्न थाले, खेती नै मासिने चिन्ता

झापा । झापाका अधिकांश सुपारी बगानमा मरिचका लहरा पनि हुर्किरहेका छन् । सुपारी बगानमा लगाइएको मरिचबाट किसानले राम्रै आम्दानी लिइरहे पनि पछिल्ला केही वर्षयता मरिचका लहरा सुक्न थालेपछि किसान निकै पिरोलिएका छन् । 

मरिच खेतीसम्बन्धी ज्ञान भएका कृषि प्राविधिक नहुँदा रोग नियन्त्रण गर्न नसकिएको किसानको गुनासो छ । झापा बुद्धशान्तिका नेत्र संग्रौलाको सुपारी बगानमा मरिच हुर्कन थालेको पनि चार दशक हुनै लाग्यो । नेपालमा व्यावसायिक मरिच खेती सुरु गर्ने संग्रौला पछिल्ला केही वर्षयता धमाधम मरिचका लहरा सुक्न थालेपछि खेती नै मासिने हो कि भन्ने चिन्ताले पिरालिनुभएको छ ।

सुपारी खेतीमा संलग्न झापाका अधिकांश किसानले वैकल्पिक बालीका रूपमा मरिच खेती गर्दै आएका छन् । सुपारीले राम्रो मूल्य नपाएका बेला किसानले मरिच बेचेर भए पनि घरव्यवहार चलाउँदै आएका छन् । अहिले व्यापारीले बगानबाटै प्रतिकेजी एक हजारसम्ममा मरिच लैजाने गरेका छन् ।

झापाको बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर जस्ता उत्तरी क्षेत्रमा सुपारीसँगै मरिच लहराएको छ । तर, प्राविधिक ज्ञानको अभावमा धेरै किसानको मरिच मासिने क्रममा छ । कृषि ज्ञान केन्द्रका अधिकारी भने किसानले पर्याप्त मल र सिँचाइ पुर्‍याउन नसकेकाले नै मरिचका बोट मरिरहेकाले दुवै बालीले पुग्ने गरी मल हाल्न सुझाउँछन् ।

झापाको करिब १५ हेक्टर जमिनमा मरिच खेती भइरहेको र यसबाट किसानले कम्तीमा वार्षिक ३ करोड रुपैयाँ भित्र्याइरहेको कृषि ज्ञान केन्द्रको आकडा छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।