एमालेमा ‘झोले’ बन्ने अभियान

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेमा ‘झोले’ बन्ने अभियान

काठमाडौं । नेकपा एमाले सामाजिक सञ्जालमा ‘म झोले हो’ अभियान सुरु गरेको छ । शनिबार बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको भन्दै गुनासो गर्नुभएको थियो । साथै, जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताउनुभएको थियो ।

“म कबुल गर्छु, झोले हो । झोला बोकेर हिँड्या हो । यी झोला किन बनेका भन्या, बोक्न होइन ? राम्रा कुरा बोक्न बनेका झोलामा दलाली हालेर बोक्छन् यिनीहरू । राम्रा कुरा बोकेर हिँडून् त्यो झोलामा । झोले हुनुमा गर्व छ”, उहाँले भन्नुभएको थियो ।

सोही भनाइलाई पछ्याउँदै अहिले सामाजिक सञ्जालमा एमाले नेता/कार्यकर्ताले झोले अभियान सुरु गरेका हुन् । ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौं गुणा उत्तम चरित्र’ भएको उक्त पोस्टमा उल्लेख छ ।

एमाले अध्यक्ष ओलीले भीडसँग बल भए पनि सत्य नहुन पनि सक्ने भएकाले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न छोड्न नहुने बताउनुभएको छ ।

एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, युवा संघका अध्यक्ष क्षितिज थेबे लगायतले आफू झोले भएको उल्लेख गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.