गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताउनुभएको छ । नेकपा (एमाले) को संसदीय दलको आज बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसद्‌का नियमित गतिविधि सञ्चालन हुने बताउनुभयो ।

“भोलिदेखि नियमित संसद् चलाऔं भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीसँग कुरा गर्न खोजें तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैं चल्दैन । संसद् यस्ता नचाइने कुरामा सधैं बन्द हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यस कारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन । माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।”

सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यसता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरूपमा आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई संसदीय गतिविधिलाई महत्त्व दिन निर्देशन दिनुभयो ।

अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरूले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उहाँले राजतन्त्र आजको बहसको विषय नै होइन भन्नुभयो ।

“आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो । भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ । दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन । यस्तो बेलामा नेपालमा राजतन्त्र पुनःस्थापनाको कुरा गर्नेहरूको चेतनाको स्तर देख्दा दया लागेर आउँछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “समाज थितिविधिमा चल्नुपर्छ । संविधान र कानुनबाट चल्नुपर्छ । दलभन्दा माथि जनता हुन्छन् । सम्पूर्ण शक्तिका स्रोत जनता हुन् । अराजकता र असन्तुष्टवादीहरूले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर ती मुलुकमा लोकतन्त्रमा फर्केर मात्रै निकास आउने कुरा बुझ्नुपर्छ ।”

कतिपय पक्षमा सत्ता छोड्नुपरेकाले बेचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उहाँले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्तिहरू देखिएको बताउनुभयो । “सरकारको नेतृत्वमा भएकाले हामीमाथि केन्द्रित आक्रमण गरिएको छ जबकि देशलाई ओरालो लाग्ने कुरालाई रोकेका छौं । सबै क्षेत्रमा राम्रा काम गरेका छौं । हामी अझ प्रभावकारीरूपमा विकास र सुशासनका लागि अघि बढ्नेछौं ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.