संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचितः कांग्रेस

जेष्ठ १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचितः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो । 

उहाँले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउनु भयो । उहाँले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको बताउनु भयो । 

उहाँले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको बताउनु भयो । प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले त्रुटीहरूलाई समाधान गर्नेगरी संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्ने कुरा सरकारले गरेको स्पष्ट पार्नुभयो ।

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा छलफल गरिएको छ । प्रवक्ता महतले पार्टीको केन्द्रिय कमिटीको बैठक छिटै बस्ने जानकारी दिनुभयो । 

उक्त बैठकमा गणतन्त्र, समावेशीतालगायतका संविधानले दिएका उपलब्धिहरूको रक्षा, पार्टीलाई सक्रियता बनाउने र आगामी दिनका आर्थिक रूपान्तरण लगायतका चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा छलफल गरिने उहाँले बताउनु भयो । आफूहरू लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर भएको बताउँदै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको उहाँकाे भनाइ छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.