भक्तपुर । नयाँ वर्षको अवसर पारेर मनाउन लागिएको नगरकोट भ्रमण वर्ष २०८२ को तयारी पूरा भएको छ । आज नगरकोट भ्रमण वर्ष मूल समारोह समितिले पत्रकार सम्मेलन गरी भ्रमण वर्षको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्न आगामी वैशाख १ गतेदेखि 'नगरकोट भ्रमण वर्ष–२०८२' एक वर्षसम्म मनाइने भएको हो । चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शंखरापुर नगरपालिकाको संयुक्त आयोजना हुने यस भ्रमण वर्षको उद्घाटन वैशाख १ गते नगरकोटको बतासे डाँडास्थित सनराइज भ्यू पार्कमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु हुनेछ ।
भ्रमण वर्षलाई सफल बनाउन १ हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति गठन गरिएको छ । चार वटै नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रशासकीय अधिकृत, नाल्दुम पर्यटन विकास समिति तथा स्थानीय संघ–संस्थाहरुको सक्रिय समावेशी सहभागिता रहने जनाइएको छ ।