काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ दशलमव ५ प्रतिशतले कर्जा बढाउने भने पनि फागुनसम्म ६ प्रतिशतले मात्रै बढेको छ । आर्थिक शिथिलता चिर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने भए पनि आयात र सेयरमा मात्र कर्जा बढेको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ३ खर्ब ४ अर्ब ८२ करोड रुपैयाँ कर्जा गएको छ । जबकि अहिले पनि बैंकहरुमा ७ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । तर, अहिलेसम्म लक्ष्यअनुसार कर्जा बढेको छैन ।
गतवर्षको तुलनामा ६ प्रतिशत मात्रै कर्जा बढेको देखिए पनि यो कर्जा उत्पादन र रोजगारी सिर्जना गर्ने ठाउँमा गएको छैन । आयात कर्जा ५८ दशमलव १ प्रतिशत र सेयर कर्जा ३१ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तो कर्जाले उत्पादन र रोजगारी बढाउन नसक्ने पूर्व बैंकर अनिलकुमार उपाध्ययको भनाइ छ ।
आयातमा गएको कर्जा पनि औद्योगिक कच्चा पदार्थ र विकास निर्माणका सामग्रीमा भन्दा उपभोग्य सामान खरिदमा गएको छ । औद्योगिक उत्पादनतर्फको कर्जा ९ दशमलव ३ प्रतिशत र निर्माणतर्फको कर्जा ९ दशमलव ५ प्रतिशतले मात्रै बढेको छ । सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले मात्रै बढेको छ ।