काठमाडौं । आईसीसी अन्डर-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा हङकङले ओमानविरुद्ध शानदार जित हात पारेको छ । यसअघि नै विश्वकपमा छनोट हुने सम्भावना समाप्त भइसकेको हङकङले ओमानलाई १० विकेटले हराएको हो ।
ओमानका लागि छनोट प्रतियोगिताको यो अन्तिम खेल हो । जितविहीन ओमानको पनि विश्वकपमा पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको थियो ।
मूलपानीको माथिल्लो मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २६ ओभर २ बलमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । यसका लागि नीतिशले २६ रन र ऋषभ गुप्ताले १८ रन बनाए । ओमानका ६ खेलाडीले खाता खोल्न नसक्दा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमानलाई रोक्न हङकङका डेनियल मोर्गन, शायन पुरी र आफताब मोहम्मदले समान २-२ विकेट लिए ।
जवाफमा ६३ रनको सामान्य लक्ष्य हङकङले १५ ओभर २ बलमा विनाकुनै विकेट गुमाएर पूरा गर्यो । उसका आर्य पञ्जवानीले २८ र जुड ली थोमसले ३० रन बनाए । सजिलो रन चेसमा हङकङका दुवै ओपनरहरू अविजित रहे ।
छनोटको आफ्नो अन्तिम खेलमा भोलि हङकङले यूएईसँग प्रतिस्पर्धा गर्ने छ । ओमान भने छनोट प्रतियोगितामा जितविहीन रह्यो । ओमान, अफगानिस्तान र नेपालसँग पराजित भएको थियो भने यूएईसँगको खेल वर्षाका कारण नतिजाविहीन समाप्त भएको थियो ।