राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भट्टविरुद्ध सर्वोच्चमा पूरक निवेदन दर्ता

वैशाख ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भट्टविरुद्ध सर्वोच्चमा पूरक निवेदन दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ । भट्टलाई सरकारले गभर्नरमा नियुक्त गर्न लागेको चर्चा भएपछि उहाँको योग्यता नपुग्ने भन्दै पूरक निवेदन दर्ता भएको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दर्ता गराएको पूरक निवेदनमा गभर्नरका लागि भट्टको योग्यता नपुग्ने दाबी गरिएको छ । यसअघि गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी सरकारले मापदण्ड संशोधन गरेको भन्दै उहाँहरूले नै सर्वोच्चमा रिट दिनुभएको थियो । सोही रिटमाथि नै निवेदकहरूले पूरक निवेदन दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।

पहिले दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै गत मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सो मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । चैत १८ गते अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो । उक्त निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आइतबार नै पूरक निवेदनमाथि पनि सुनुवाइ हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.