गौरवका आयोजना सक्न डेढ दशक लाग्ने प्रक्षेपण, पुराना योजना सूचीबाटै हटाउन दबाब

चैत्र २४, २०८१ |सुमन पन्थ
गौरवका आयोजना सक्न डेढ दशक लाग्ने प्रक्षेपण, पुराना योजना सूचीबाटै हटाउन दबाब

काठमाडौं । राष्ट्रिय योजना आयोगले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना सक्न कम्तीमा २ देखि १६ वर्षसम्म लाग्ने प्रक्षेपण गरेको छ । अहिलेसम्म भएको लगानी र विगत तीन वर्षसम्म विनियोजन भएको रकमका आधारमा आयोजना सक्न कम्तीमा डेढ दशक लाग्ने प्रक्षेपण आयोगले गरेको हो ।

तर, लामो समयदेखि सम्पन्न हुन नसकेका आयोजनालाई गौरवका आयोजनाबाटै हटाउन दबाब बढेको छ । राष्ट्रिय योजना आयोगले गौरवका आयोजनालाई सम्पन्न हुन लाग्ने समय र लागतका आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो गरी चार भागमा विभाजन गरेको छ । जसअनुसार आयोजना सम्पन्न हुन २ देखि १६ वर्षसम्म लाग्ने आयोगको प्रक्षेपण छ । अहिले गरिएको विनियोजनका आधारमा मेलम्ची खानेपानी आयोजना तथा हुलाकी राजमार्ग २ वर्षमा सकिने अनुमान छ । तर हुलाकी सडकमा पुल निर्माणका लागि थप समय लाग्न सक्छ ।

त्यस्तै बबई सिँचाइ, पुष्पलाल मध्यपहाडी राजमार्ग तथा रानी जमरा कुलरिया सिँचाइ आयोजना ४ देखि ६ वर्षमा सम्पन्न हुने प्रतिवेदन योजना आयोगले तयार पारेको छ ।

अहिलेको बजेट विनियोजनको गति हेर्दा बुढीगण्डकी जलविद्युत् बनाउन १२ देखि १५ वर्ष र पूर्वपश्चिम विद्युतीय रेल, मेट्रो र मोनो रेल निर्माणका लागि कम्तीमा १५ वर्ष लाग्ने छ । आउँदो आर्थिक वर्षका लागि बजेट निर्माणको काम थालेको सरकारले नयाँ आर्थिक वर्षमा सम्पन्न हुने आयोजनामा मात्र बजेट केन्द्रित गर्नुपर्ने माग हुँदै आएको छ । संसदीय समितिमा चलेका छलफलमा पनि सांसदहरूले लामो समयसम्म सम्पन्न हुन नसकेका आयोजनाहरूलाई गौरवका आयोजनाबाट हटाउन माग गर्दै आएका छन् ।

आउँदो आर्थिक वर्षमा प्रतिफलमुखी आयोजनामा बजेट केन्द्रित गर्ने सरकारले बताउँदै आएको छ । तर, कस्ता आयोजना कटौती गर्ने भन्ने विषयमा भने सरकारी अधिकारीहरू अन्योलमा देखिएका छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।