झापामा हरियो चियापत्तीको पहिलो टिपाइ सकियो

चैत्र २४, २०८१ |गणेशमान मुखिया
झापामा हरियो चियापत्तीको पहिलो टिपाइ सकियो

झापा । झापामा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सकिएको छ । फर्स्ट प्लक अर्थात् पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुन्छ । 

बजारमा उच्च माग भएकोले महँगो मूल्यमा बिक्री हुन्छ । यो वर्ष भने गत वर्षभन्दा हरियो पत्तीको मूल्य कम त भयो नै उत्पादन समेट घटेको छ ।

हरेक वर्ष हरियो पत्तीको टिपाइ अर्थात् फर्स्ट प्लक फागुन महिनाको तेस्रो हप्ताबाट सुरु भई एक महिना चल्छ । सुरुआती टिपाइ भएकोले तयारी चिया समेत गुणस्तरीय उत्पादन हुन्छ । फर्स्ट प्लकबाट तयारी भएको चिया भारत निकासी हुँदैन । महँगो भए पनि नेपालमै खपत हुने गरेको छ । 

गत वर्ष २६ प्रतिशतमाथि गुणस्तरको हरियो पत्तीको मूल्य किलोको ५० रुपैयाँ थियो भने यो वर्ष कारखानाले ४२ रुपैयाँ तय गरेको छ ।

विगतका वर्षको जस्तो फर्स्ट प्लकबाट फाइदा लिन नसकिने चिया किसान बताउँछन् । लामो समय खडेरी परेकाले चियाको बोट मरेका छन् । चिया, कृषि बाली भए पनि सरकारले उद्योग शीर्षकमा राखेकाले सिँचाइ गर्न बिजुली महँगो पर्दछ । मलखाद अभाव छ । कुल उत्पादन एकचौथाइ नै घटेको कृषक बताउँछन् ।

झापामा १० हजार ५ सय हेक्टरमा चिया खेती हुने चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । यहाँ १ करोड ८२ लाख किलो सीटीसी चिया उत्पादन हुन्छ । जसमध्ये ६० प्रतिशत चिया भारत निकासी हुन्छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।