मुस्ताङ । अनुकूल मौसमका कारण यतिखेर हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कागबेनी पर्यटक र तीर्थालुले भरिभराउ छन् । मुक्तिनाथ दर्शन गर्न, कागबेनीमा चैते दशैं नुहाउन र मुस्ताङ घुम्न आएका आन्तरिक भारतीय धार्मिक पर्यटकको घुइँचो लागेको हो ।
त्यस्तै अन्नपूर्ण चक्रीय मार्गको थोरङ्ला काटेर आएका तेस्रो देशका पर्यटकहरूको पनि ठूलो भीड छ। वैशाख-जेठमा भारतीय र असोज-कात्तिकमा नेपाली तीर्थयात्री बढीजसो मुक्तिनाथको दर्शन गर्न आउने गरेका छन् ।
पर्यटकको भीडले लेते, टुक्चे, मार्फा, जोमसोम, कागबेनी, झारकोट र मुक्तिनाथका होटलहरू भरिभराउ हुने गरेका छन् । मुस्ताङ प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मुस्ताङमा तीन लाख ९६ हजार ९ सय पर्यटक पुगेका छन् । यीमध्ये चैत २२ गतेसम्म ४८ हजार ८ सयभन्दा बढी पर्यटक मुक्तिनाथ पुगे ।
रेकर्डमा मुस्ताङ आउने कुल पर्यटकमध्ये आन्तरिक ८१ प्रतिशत र १९ प्रतिशत विदेशी छन् । विदेशी पर्यटकमध्ये पनि ८० प्रतिशत भारतीय हुन् ।