झापा । कृषि उत्पादनका लागि प्रमुख आवश्यकताभित्र पर्छ सिचाईं । यद्यपि नेपालका अधिकांश किसान अहिले पनि सिचाईं अभाव झेलिरहेका छन् ।
त्यसो त, कृषि उत्पादनलाई बढावा दिन भन्दै सरकारले देशभर साना ठूला गरी सयौं सिचाई आयोजना सञ्चालन गरेको छ । तर, ती आयोजनाहरू समयमा मर्मत नहुँदा किसानको माग अनुसार पानी आपूर्ति गर्नै नसक्ने हालतमा पुगेका छन् ।
करिब ५ दशकअघि झापामा निर्माण भएको कन्काई सिचाईं आयोजना पनि प्रभावित क्षेत्रका किसानका लागि फलदायी बन्न सकिरहेको छैन ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४, जनताचोकका यामप्रसाद अधिकारी केही वर्ष अघिसम्म १५ विघा खेतमा धान रोप्नुहुन्थ्यो । अहिले भने उहाँले २ विघामा मात्र धान रोप्ने तयारी गर्नुभएको छ ।
खेतको आडैबाट बग्ने कन्काई नहरमा पानी घट्दै जानु र रातदिन दुःख गरेर फलाएको धानले राम्रो मुल्य नपाउँदा लागत नै गुम्न थालेपछि अधिकारीमा धान रोप्ने जाागर मर्दै गएको हो ।
यामप्रसाद मात्र होइन, कन्काई सिचाईं आयोजनाबाट सिञ्चित हुने झापाको शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका अधिकांश किसानको नियति उस्तै छ ।
२०२८ सालमा निर्माण सुरू भएको कन्काई नहरबाट २०३८ सालदेखि झापाका किसानलाई सिचाईं सुविधा दिन थालेको हो । यो आयोजनाबाट झापाको ८ हजार हेक्टर जमिन सिञ्चित भइरहेको सिचाईं व्यवस्थापन कार्यालयको दाबी छ ।
तर, कन्काई खोलामा पानी घट्नुका साथै समयमा नहर मर्मत नहुँदा वर्खे धान रोप्ने बेला साधैजसो पानीको हाहाकार हुने गरेको किसानको गुनासो छ । किसानको यो गुनासो कसले र कहिले सम्वोधन गर्ने ?