जनकपुर । नेपालमा पछिल्ला २ वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा मात्रै झण्डै ३ गुणा बढी लसुन आयात भएको छ । पछिल्लो ६ महिनामा नेपालले प्रतिमहिना औसतमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन चीनबाट आयात गरेको देखिन्छ ।
यसरी आयात भएको ठूलो परिमाणको लसुन भारत चोरी निकासी हुने गरेको व्यवसायी बताउँछन् । किनभने हाल भारतमा लसुन तुलनात्मकरूपमा नेपालमा भन्दा महङ्गो छ ।
अधिकांश घरको भान्सामा नभई नहुने मसला हो लसुन । हिउँदमा आजकल जनकपुरधाम लगायत तराई मधेशका बजारमा पोटीसँगै हरियो लसुनको माग पनि अध्याधिक छ ।
कृषि विकास निर्देशनालयका अनुसार मधेशका ८ जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा १२ सय ८२ हेक्टरमा १० हजार ३४ टन, २०७९/०८० मा १ हजार ८५ हेक्टरमा ८ हजार २ सय ७१ टन र गएको वर्ष २०८०/०८१ मा १ हजार १ सय ९० हेक्टरमा ९ हजार ३ सय ८० टन उत्पादन भएको थियो । प्रायः जसो मधेशका किसानहरूले व्यवसायीक रुपमा नभई वर्षभरि भान्सामा प्रयोगका लागि मात्र लसुन खेति गर्छन् ।
भन्सार विभागका तथ्याङ्क अनुसार २०७७/०७८ मा एक अर्ब पाँच करोड ९५ लाख, २०७८/०७९ मा एक अर्ब पाँच करोड ३३ लाख, २०७९/०८० मा एक अर्ब ११ करोड २५ लाख, २०८०/०८१ मा दुई अर्ब २२ करोड ५२ लाख र चालु आर्थिक वर्षको ६ महिना भित्र ६ अर्ब १८ करोड ५४ लाख रुपैयाँको लसुन भित्र्याएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पुष मसान्त भित्र ७ गुणा बढि लसुन आयात भएको हो ।
नेपालको तुलनामा भारतीय बजारमा अत्याधिकका महगों रहेका कारण चीनबाट आयात भएका लसुन भारततर्फ चोरी निकासी हुँदै आएको आलु व्यवसायी संघ, जनकपुरधामका अध्यक्ष अलाउदिन राईन बताँउहुन्छ ।
विदेशबाट आयात भएका लसुनभन्दा मधेश मात्र नभई पहाडमा समेत उत्पादन हुने लसुन स्वादिलो मान्निछ । त्यसैले किसानहरूले परम्परागत रूपमा आफैले उत्पादन गरेका लसुन उपभोग गर्दै आएका छन् । खेतीका लागि माटो र वातावरण सुहाउँदो रहेपनि यसरी नै वर्षेनी अर्बौ रुपैयाँको लसुन आयात हुँदै आएको छ ।
उत्पादन बढाउन सरकारले विभिन्न योजनाहरू अगाडि सारेको बताउँदै आएपनि धनिया, खुसार्नी, जिरा लगायतका मसाला जस्तै लसुनमा परनिर्भरता अहिलेसम्म हट्न सकेको छैन ।