यस वर्ष पश्चिम तराईमा इँटाको मूल्य बढ्नसक्ने

वैशाख १०, २०८२ |जे पाण्डे
यस वर्ष पश्चिम तराईमा इँटाको मूल्य बढ्नसक्ने

नेपालगन्ज । पश्चिम तराईमा यस वर्ष इँटाको मूल्य बढ्नसक्ने देखिएको छ । पकाउन तयारी अवस्थामा राखेको काँचो इँटा पानीले भिजेर नष्ट भएकाले व्यवसायीले मूल्य बढाएर क्षतिपुर्ति असुल गर्ने योजना बनाएका छन् । 

जसले गर्दा १ हजार इँटामा ५ सय रुपैयाँसम्म वृद्धि हुनसक्ने देखिएको छ । गत चैत अन्तिम साता भएको वर्षाले बाँकेका मात्रै ८० वटा उद्योगको काँचो इँटा नष्ट भएको थियो ।

यो दृश्यमा देखिने यी सबै इँटा गत चैतको अन्तिम साता भएको वर्षाले भिजेर काम नलाग्ने गरी नष्ट भएका छन् । भट्टामा हालेर पोल्नुअघि सुकाउँदै गरेको काँचो इँटा पानीले पग्लनुका साथै डबानमा परी माटोमा परिणत भएका छन् । 

यस्तो अवस्थामा एउटा उद्योगले कम्तिमा १० देखि २५ लाख रुपैयाँसम्मको क्षति सहनुपरेको व्यवसायीले बताएका छन् । नेपाल इँट्टा उद्योग व्यवसायी संघले बाँकेमा चैत २७ देखि ३० गते बिहानसम्म परेको पानीले १ करोड ५० लाख काँचो इँट्टा नोक्सान हुँदा ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । एउटा काँचो इँट्टा तयार गर्दा ५ रुपैयाँभन्दा बढी खर्च लाग्छ ।

तीन दिनको वर्षाले त्यहाँ १२ लाख इँटा नष्ट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको उद्योग सञ्चालक बताउँछन् । यो क्षतिपुर्ति अब उपभोक्ताबाट असुल गर्न एक हजार इँटामा ५ सय रुपैयाँ मूल्य सञ्चालकको योजना छ ।

इँटा उद्योगमा माटोको काम गर्ने मजदुर नेपालमा पाइदैनन् । मुस्किलले १० प्रतिशत मात्रै नेपाली मजदुर हुन्छन् । बाँकी सबै भारतीय मजदुरलाई इँटा उत्पादन गर्ने अवधिभरका लागि पूर्वसहमति गरी ल्याउनुपर्छ । त्यसरी ल्याएका मजदुरलाई इँटामा क्षति पुगे पनि ज्याला भने दिनैपर्ने हुँदा उद्योगीसँगै मजदुर र ठेकेदारले समेत घाटा सहनुपर्ने बताएका छन् ।

हरेक वर्ष यस्तो समस्या दोहोरिने गरेपछि उद्योगीले सरकारसँग बिमा सुविधाको माग गर्दैआएका छन् । २०७० असोजदेखि अनिवार्यरूपमा इँट्टाको कारोबारलाई करको दायरामा ल्याएको सरकारले व्यवसायिक सुरक्षाको प्रत्याभूति भने दिनसकेको छैन । बिमा नहुँदा उत्पादनमा भएको क्षति असुल्न मूल्य बढाउनुको विकल्प नभएको उद्योगीले बताएका छन् ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।