घरघरमा विषाक्त तरकारी, छैन अनुगमन

फाल्गुन २४, २०८१ |रमा दाहाल
घरघरमा विषाक्त तरकारी, छैन अनुगमन

झापा । तपाईँ-हाम्रो भान्सामा हरेक छाक केही न केही ताजा तरकारी पाकेकै हुन्छ । तर, त्यो तरकारी कति स्वस्थकर छ ? सोचेका छौं ? किसानले बालीका रोगकीरा नष्ट पार्न जथाभावी प्रयोग गर्ने विष सिधै उपभोक्ताको भान्सासम्म पुग्ने गरेको छ । नेपालमा गत आर्थिक वर्ष एक अर्ब ७० करोड बराबरको झन्डै ३४ लाख केजी विषादी भित्रिएको सरकारी तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षभन्दा यो झन्डै ७० प्रतिशतले बढि हो । नेपालमा खपत हुने विषादीको झन्डै ८० प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । 

झापाको विर्तामोडस्थित कृषि थोक बजारमा हालै गरिएको परीक्षणमा विर्तामोडका एक किसानले उत्पादन गरेको काउली र ब्रोकाउलीमा विषादीको रुकावट दर ९५ प्रतिशतभन्दा माथि देखियो । जबकी ३५ प्रतिशतभन्दा बढी रुकावट दर देखिएको तरकारीलाई खान अयोग्य मानिन्छ । ती किसानले केही दिनअघि आफ्नो तरकारी बारीमा 'इमिडाकोपि्रट' नामक विषादी हालेका रहेछन् । जानकारहरूका अनुसार त्यो विषादी प्रयोग गरेको ३० दिनसम्म विषको असर देखिन्छ । तर, किसान भने आफूले विषादी प्रयोग गरेको २० दिनमै तरकारी टिपेर बजार पुर्‍याएको स्वीकार्छन् ।

ल्याब परीक्षणको नतिजापछि रायले बजार पुर्‍याएको तरकारी नगरपालिकाले नष्ट पार्‍यो । तर, यसरी विष मिसिएको धेरै तरकारी परीक्षण नै नगरी उपभोक्ताको भान्सासम्म सहजै पुगिरहेको छ । किनकी परीक्षण सुविधा भएको विर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि पुग्ने सबैखाले तरकारी हरेक दिन ल्याबमा राखेर जाँचिदैन । झापाका अन्य बजारमा त विषादी परीक्षणको सुविधा नै छैन । कृषि मन्त्रालयले बिर्तामोडस्थित कृषि थोक बजारमा राखेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालामा गत पुषयताको मात्र नतिजा हेर्दा तोरीको साग, चम्सुर साग, गोलभेडा, काउलीजस्ता तरकारीमा ७५ प्रतिशतमाथिसम्म विषादीको रुकावट दर भेटिएको छ । यसअघि पनि पटक-पटक यस्ता विषाक्त तरकारी र फलफूल बिक्रीका लागि ल्याएको पाइएको प्रयोगशालाका प्राविधिक अम्बिका बोहोराको अनुभव छ ।

नेपालमा करिव तीन लाख हेक्टर क्षेत्रफलमा खेती भई करिब ४१ लाख मेट्रिक टन ताजा तरकारी उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले देखाउँछ । देशैभरिका शहर आसपासका क्षेत्रमा व्यापक रुपमा तरकारी उत्पादन हुन थालेको छ । तर विषादीको प्रयोग पनि बढिरहेको छ । किसानले अन्धाधुन्ध विषादी प्रयोग गरेको पाइँदा नियामक निकायचाहिँ के गरिरहेको छ त ?

जवाफ भिडियो रिपोर्टमा हेर्नुहोस

रोग किराको नियन्त्रणका लागि अन्तिम अस्त्रको रुपमा रासायनिक विषादीको प्रयोग गर्नु किसानको बाध्यता हो । तर बुझ्दै नबुझी जुनसुकै अवस्थामा पनि विषादीको प्रयोग बढ्नुलाई सामान्य मान्न सकिदैन । रासायनिक विषादीको भरपर्दौ विकल्प सूक्ष्म जैविक विषादी प्रयोग गर्न सकिन्छ । पछिल्लो समय अमेरिका र युरोपमा जैविक विषादीको प्रयोग बढेको छ । हामीकहाँ पनि थोरै ठाउँमा यसको प्रयोग भएको छ । सरकारी रुपमा नै यसतर्फ पहल गर्न आवश्यक छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement