काठमाडौं । ललितपुरमा मनाइने मच्छिन्द्रनाथ जात्रासँग अनेक सन्दर्भ जोडिएको छ । जात्रा सुरू भएसँगै हरेक दिन रथ जुन टोलमा पुग्छ जात्राको नयाँ रौनक, भिन्न किसिमको पूजा र भोज हुने गर्छ ।
यस्तै ललितपुरको लगनखेलमा 'नरिवल खसाल्ने' चर्चित जात्रा मनाइएको छ । ३२ हात अग्लो मच्छिन्द्रनाथ रथको टुप्पोबाट खसालेको नरिवल लिन श्रद्धालुहरूको निकै ठुलो भिड लागेको थियो । नेपाल भाषामा 'नैक्या लुइजु जात्रा' भनिने यो दिनलाई पाटनवासीले सदा झै धार्मिक उत्सवका रूपमा मनाइएका छन ।
हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ लगनखेलस्थित थती टोलमा पुर्याएको भोलिपल्ट नरिवल खसाल्ने जात्रा हुन्छ । ३२ हात अग्लो नौ तल्ले रथको टुप्पोमा गइ मच्छिन्द्रनाथको धार्मिक विधिपूर्वक पुजा गरेपछि नरिवल खसाल्ने परम्परा छ ।
अग्लो रथको टुप्पोबाट खसालिएको नरिवल आफ्नो हातमा पार्न युवाहरू उत्साहका साथ सहभागी भए । मच्छिन्द्रनाथको रथ निर्माणमा संलग्न यँवाल मध्ये ज्येष्ठ व्यक्ति प्रेम महर्जनले जट्टावाल नरिवल रथको टुप्पोबाट खसाल्नु भएको थियो ।
नरिवल खसाल्नु अघि जेष्ठ व्यक्तिले रथको चारैतिर प्रसादका रूपमा योमरी खसाल्नु भएको थियो । यमरी प्रसाद र नरिवल लिन युवाहरूले तँछाडमछाड गरे ।
जट्टावाल नरिवललाई मच्छिन्द्रनाथको प्रसादको रूपमा लिइन्छ । जात्राका क्रमा खसालिएको नरिवल हातपार्न सक्नेलाई सुख शान्तिसँगै सन्तान प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको छ । जात्रामा १९ वटा विभिन्न टोलका स्थानीयको सहभागितासहित परम्परागत वाजा बजाउनेहरू पनि उपस्थित थियो ।
परापूर्वकालमा कर्कोटक नामका नागराज समेत मच्छिन्द्रनाथको नरिवल जात्रा हेर्न आएको किंबदन्ति रहेकाले पनि हजारौंको संख्यामा स्थानीय सर्वसाधारण र भक्तजनको सहभागी भए ।
यसका साथै मीननाथको रथबाट पनि नरिवल खसाल्ने परम्परा छ । नरिवल खसाली सकेपछि पाटनवासी विशेष भोजमा सहभागी हुने परम्परा छ । यसवर्ष मच्छिन्द्रनाथको रथयात्रा वैशाख १८ गते पुल्चोकबाट सुरू भएको थियो । मुलुकको लामो समयसम्म चल्ने यो जात्राको क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो देखाएसँगै जात्रा समापन हुन्छ ।