वैदेशिक अनुदान रोक्ने ट्रम्पको निर्णयले नेपालको विकासमा कस्तो प्रभाव पर्छ ?

विज्ञ भन्छन्- अमेरिकाको सहयोग अपरिहार्य
माघ १३, २०८१ |किरण पौडेल|सुमन पन्थ
वैदेशिक अनुदान रोक्ने ट्रम्पको निर्णयले नेपालको विकासमा कस्तो प्रभाव पर्छ ?

काठमाडौं । राष्ट्रपतिमा डनल्ड ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर नै तरंग उत्पन्न भएको छ । अब ३ महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुंगो लगाउने छ ।

अमेरिकाले सन् २०२३ मा ७२ अर्ब डलर वैदेशिक अनुदानमा खर्च गरेको थियो । यो निर्णयले अमेरिकी सहयोगमा विश्वभर सञ्चालित स्वास्थ्य, शिक्षा तथा विकासका परियोजना प्रभावित हुने आकलन गरिएको छ । नेपालमा अहिले अमेरिकी सहयोगमा कति परियोजना सञ्चालित छन् र अमेरिकी घोषणाले नेपालमा कस्तो प्रभाव पर्ला ?

अमेरिकाको सहयोग नेपालमा स्वास्थ्यमा सबैभन्दा बढी रहेको छ । स्वास्थ्य क्षेत्रमा बजेटरी र गैर बजेटरी गरी ७ अर्ब रुपैयाँ खर्च भइरहेको छ, जसमा सबैभन्दा बढी बालबालिकाको पोषण सुरक्षा सम्बन्धी परियोजना रहेका छन् । स्वास्थ्यकर्मीलाई सुई लगाउन सिकाउनेदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य पूर्वाधारमा अमेरिकाको सहयोग रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् । दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि अमेरिकाको सहयोग अपरिहार्य रहेको विज्ञहरूको भनाइ छ ।

“सबैभन्दा कठिनाइ दिगो विकास लक्ष्य प्राप्तिमा हो । त्यसका अधिकांश सूचकहरूमा त्यहाँ वैदेशिक सहायताको सघन उपस्थिति छ”, राष्ट्रिय योजना आयोगका पूर्वसचिव केवलप्रसाद भण्डारीले बताउनुभयो ।

नेपालमा २००७ मा प्रजातन्त्र स्थापनासँगै सुरू भएको गाउँ विकास कार्यक्रमदेखि एमसीसीसम्म आइपुग्दा अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य तथा विकासमा गरेको सहयोगले निकै ठूलो मद्दत पुगेको छ ।

“अमेरिका भनेको द्विपक्षीय रूपमा अन्तर्राष्ट्रिय सहायता दिने मात्र होइन, विश्वका ठूला बहुराष्ट्रिय संस्थाहरू जस्तै विश्व बैंक, एसियाली विकास बैंक, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य संगठन लगायत संयुक्त राष्ट्रसंघका धेरै निकाय मार्फत पनि उसका पैसा आउँछन्”, पूर्वसचिव रामेश्वर खनालले बताउनुभयो ।

अमेरिकाको सहयोगमा अहिले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि १ खर्ब रुपैयाँभन्दा बढीको एमसीसी परियोजना सञ्चालनमा छन् । १३२ वटा जलविद्युत् आयोजनाबाट करिब चार हजार मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी परियोजना सञ्चालनमा रहेको छ । नेपालमा उत्पादित विद्युत् भारत सहित दक्षिण एसियाली मुलुकमा बिक्रीमा सघाउ पुर्‍याउने गरी प्रसारण लाइन बनाएर अमेरिकाले सहयोग गरिरहेको छ ।

त्यति मात्र होइन एमसीसी अन्तरगत नै सडकमा नवीनतम् प्रविधिको प्रयोग भित्राउन पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही ४० किलोमिटरको सडक बनाइरहेको छ । यस्तै, रैथाने कृषिको रूपान्तरणदेखि कृषिमा यान्त्रीकरणसम्म अमेरिकाले सहयोग गरेको छ । पछिल्लो समय किसान-टु परियोजना मार्फत् तराईमा २७ सय किसानलाई स्यालो ट्युबेल वितरण गरेको थियो । त्यस्तै २ करोड अमेरिकी डलर सहयोगमा संचालित नेपाल बीउ तथा मल परियोजनाले नेपालका निजी क्षेत्रलाई पनि बीउको उत्पादन गर्न सहयोग गरेको थियो । कञ्चनपुरदेखि बारासम्म हिउँदमा वसन्ते मकै लगाउन सिकाउने काम गरेको थियो ।

कृषि क्षेत्रमा अमेरिकाको वार्षिक १ अर्ब रुपैयाँभन्दा धेरै लगानी रहेको कृषि मन्त्रालयले जनाएको छ । यस्तै, २०७२ को भूकम्पपछि नेपालमा उत्पादित वस्तुलाई शून्य भन्सारको सुविधा अमेरिकाले दिएको छ । नेपालको भारतपछि सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक नै अमेरिका बनेको हो । अहिले अल्पविकसितबाट विकासशील मुलुकमा रूपान्तरण हुँदै गर्दा अमेरिकी सहयोगको नेपाललाई अझै धेरै खाँचो देखिएको छ ।

तर अमेरिकी राष्ट्रपतिको वैदेशिक सहायता हाललाई रोक्ने निर्णयले अब यस्ता सहयोग के हुन्छन् भन्ने अन्यौल सिर्जना भएको छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।

Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement