काठमाडौं । भारतको सबैभन्दा ठूलो सोलार ऊर्जा उत्पादक कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने भएको छ ।
नेपाल सरकारले सौर्य ऊर्जा प्रवर्द्धन गर्न ९६० मेगावाट सौर्य ऊर्जा निजी क्षेत्रबाट खरिद गर्ने नीति लिएको छ । सुक्खा याममा हुने विद्युत् अभाव टार्न सरकारले सौर्य ऊर्जालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको हो । जसका लागि २८ वटा कम्पनीलाई अनुमति समेत दिइसकेको छ । ती कम्पनीले देशका विभिन्न ठाउँमा परियोजना सुरू गर्नेछन्, जसमध्ये गोल्यान इनर्जीसँगको सहकार्यमा प्रजोलले ५ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नेछ ।
देशलाई स्वच्छ ऊर्जामा अग्रणी बनाउने र नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा रूपान्तरणकारी काम गर्ने प्रोजिल ग्रिन इनर्जी नेपालले जनाएको छ । प्रोजिल ग्रिन इनर्जीले नवीकरणीय ऊर्जा क्षेत्रमा व्यापक विशेषज्ञतालाई प्रयोगमा ल्याउँदै (इन्जिनियरिङ, खरिद र निर्माण) विकास कम्पनीको रूपमा काम गर्ने गोल्यान ग्रुपका अध्यक्ष अक्षय गोल्यानले बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावटको सोलार उत्पादमा पीपीए गर्ने सम्झौता बमोजिम प्रोजिल ग्रिन इनर्जी प्राविधक पान्टनरका रूपमा काम गर्ने बताउनुभयो ।
उहाँले प्रोजिल ग्रिन इनर्जीले उद्योगहरूमा सौर्य ऊर्जा परियोजनाहरू निर्माण गरिदिने लक्ष्य राखेको बताउनुभयो । उहाँले गोल्यान पावरसँग मिलेर ५ सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्यअनुसार २ सय मेगावाट बनाउने सम्झौता भइसकेको बताउनुभयो । उहाँले रिलायन्स स्पिनिङ मिल्सको खपतको लागि पनि उद्योगको छतमा ९ मेगावाटको सौर्य ऊर्जा उत्पादनको तयारी भइसकेको बताउनुभयो ।
प्रोजिल ग्रिन इनर्जी नेपालका सञ्चालक प्रविण अर्यालले प्रोजिल ग्रिन इनर्जीसँगको साझेदारीले नेपालमा नवीकरणीय ऊर्जा र दिगोपनप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने बताउनुभयो । उहाँले प्रोजिल ग्रिन इनर्जीसँग सहकार्य गरी नेपालको बढ्दो ऊर्जा माग पूरा गर्ने र आर्थिक वृद्धिलाई सहज बनाउने उदेश्यले सहकार्य सुरू गरिएको बताउनुभयो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले निजी क्षेत्रलाई सहज वातावरण बनाउँदा वर्षमा १ हजार मेगावाट ऊर्जा उत्पादन गर्नसक्ने बताउनुभयो । उहाँले विद्युत् उत्पादनमा वृद्धि गर्नसके मुलुकले अर्को वर्षदेखि बिजुली किन्नै नपर्ने वा न्यून मात्रै किन्नुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले अहिले ८ सय मेगावाटको टेन्डर भए पनि जानकारीमा नभएको बताउनुभयो ।
उहाँले सोलार ऊर्जालाई अगाडि बढाउने विषयमा अझै प्रस्ट नीति नभएको बताउनुभयो । उहाँले सरकारले ल्याउन लागेको विद्युत् विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएको बताउनुभयो। । उहाँले विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछि हस्तान्तरण गरिने स्पष्ट व्यवस्था भए पनि अहिले ३५ वर्षको कुरा आउनु उचित नभएको बताउनुभयो ।
प्रोजिलले नेपालमा सौर्य ऊर्जाको प्रयोगलाई तीव्र पार्न र राष्ट्रको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेखनीय योगदान पुर्याउने प्रयासमा रूफटप सोलार र जमिनमा माउन्ट गरिएको फोटोभोल्टेइक सौर्य प्लान्टहरू दुवै विकास गर्ने लक्ष्य राखेको छ ।