काठमाडौं । पछिल्लो ६ महिनामा मात्रै मुलुकको ऋण १ खर्ब २ अर्बले बढेको छ । साउनमा २४ खर्ब ३४ अर्ब रहेको ऋण पुसमा २५ खर्ब ३६ अर्ब पुगेको छ ।
यो ऋण कुल गार्हस्थ्य उत्पादनको तुलनामा ४४.४६ प्रतिशत हो । २५ खर्ब ३६ अर्बमध्ये १३ खर्ब १ अर्ब ४१ करोड बाह्य ऋण हो भने आन्तरिक ऋणको हिस्सा १२ खर्ब ३४ अर्ब ७१ करोड पुगेको छ । ऋण बढ्दै जाँदा यसको कति उचित सदुपयोग भइरहेको छ भन्ने प्रश्न पनि सँगसँगै उठेको छ । त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक सञ्जय आचार्य वैदेशिक ऋण सही स्थानमा प्रयोग गर्न नसकेकाले त्यसको प्रतिफल प्राप्त हुन नसकेको दाबी गर्नुहुन्छ ।
मुलुकमा उठेको राजस्वको अधिकांश हिस्सा कर्मचारीको तलब-भत्ता र सामाजिक सुरक्षामा खर्च हुने गरेको छ । विकास निर्माणका लागि बाह्य ऋणको भर छ । यही ऋण पनि सरकारले प्रतिफल दिने गरी खर्च गर्न नसकेको अर्थविद् डिल्लीराज खनालको बुझाइ छ ।
त्यसो त वैदेशिक ऋणका विषयमा पनि राजनीतिक दलहरूबीच एकमत छैन । चीनसँग हालै गरिएको बीआरआई फ्रेमवर्क अन्तर्गतको सम्झौतामा अनुदान लिने तर ऋण नलिने अडानका कारण यो परियोजनाबाटै नेपालले लाभ लिन नसक्ने कतिपयको तर्क छ ।
विश्वभर नै अनुदान प्राप्त गर्ने क्रम घटेको छ । त्यसको प्रभाव नेपालमा समेत देखिँदै गएको अवस्थामा लिएको ऋणको पनि सदुपयोग गरी प्रतिफल निकाल्न नसक्ने हो भने देशको बोझ मात्र बढ्ने छ ।