पाथीभरा केबलकार विवाद : वार्ताबाट समस्या समाधान गर्न प्रदेश सांसदहरूको माग

माघ १४, २०८१ |सुशीला पाठक
पाथीभरा केबलकार विवाद : वार्ताबाट समस्या समाधान गर्न प्रदेश सांसदहरूको माग

मोरङ । धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा रहेको ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा रहेको पाथीभरा क्षेत्रको केबलकार निर्माण गर्ने सम्बन्धमा उत्पन्न भएको विवाद कोशी प्रदेश सभा बैठकमा पनि प्रवेश गरेको छ । लिम्बू जातिको धार्मिक र सांस्कृतिक महत्त्व बोकेको मुकुम्लुङमा सांस्कृतिक आक्रमण भएको भन्दै कोशी प्रदेश सभाका प्रदेश सभा सदस्यहरूले वार्ता र संवादका माध्यमबाट समस्या हल गर्न सरकारसँग माग गरेका छन् ।

पाथीभरामा केबलकार निर्माण गर्ने सन्दर्भमा माघ १२ गते प्रहरी र केबलकार विरोधीबीच झडप हुँदा तीन जना घाइते भएका थिए । पाथीभरा क्षेत्रमा निर्माण सुरू गरिएको केबलकारको विषयमा भएको द्वन्द्वलाई तत्काल वार्ताबाट समस्या समाधान गर्न प्रदेश सभा सदस्यहरूले सरकारसँग माग गरेका हुन् ।

स्थानीयसँग समन्वय गरेर केबलकार निर्माण गर्नुपर्नेमा जबरजस्ती निर्माण गर्न खोज्दा झडप भएको भन्दै प्रदेश सभा सदस्यहरूले धार्मिकस्थलमा वार्ता र संवादबाट काम अघि बढाउनु पर्नेमा जोड दिएका हुन् । जनताको आस्था र भावनामाथि कुठाराघात गर्न नहुने प्रदेश सभा सदस्यहरूको भनाइ छ । व्यापारिक प्रयोजनका लागि धार्मिक क्षेत्रमा केबलकार निर्माण गर्न दिने कार्यले झडपको अवस्था निम्त्याएको प्रदेश सभा सदस्यहरूको तर्क छ ।

यता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकार वार्ता र संवादबाट समस्याको समाधान गर्न तयार रहेको जानकारी दिनुभयो ।

आत्मरक्षाका लागि प्रहरीले गोली चलाउनु परेको कोशी प्रदेश सरकारको भनाइ छ । संघीय सरकारले केबलकार निर्माणका लागि स्वीकृति दिएकाले यसमा प्रदेश सरकारले हस्तक्षेप गर्न नमिल्ने कोशी प्रदेश सरकारले जनाएको छ । झडपमा १९ प्रहरी र ६ आन्दोलनकारी घाइते भएका थिए ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement