१३ वर्षमा पनि बनेन पुल, खोला वारपार गर्न तिर्नुपर्छ पैसा

माघ १४, २०८१ |गणेशमान मुखिया
१३ वर्षमा पनि बनेन पुल, खोला वारपार गर्न तिर्नुपर्छ पैसा

झापा । हुलाकी राजमार्ग अन्तर्गत झापामा पर्ने झापा गाउँपालिका र गौरीगन्ज गाउँपालिका जोड्ने कन्काई पुल निर्माण १३ वर्षमा पनि पूरा भएको छैन । २०६८ मा निर्माण सम्झौता भएको कन्काई पुलको पाँच पटक म्याद थप भएको छ भने अहिलेसम्म आधा मात्र काम सकिएको छ ।

यसले विकासको गति कस्तो छ थाहा हुन्छ । उता गाउँपालिका बर्सेनि नदी ठेक्कामा दिएर नागरिकबाट रकम असुली रहेछ ।

हुलाकी राजमार्गको पूर्वी खण्ड अन्तर्गत झापामा पर्ने कन्काई नदीको ७२५ मिटर लम्बाइ डबल लेनको पुल ३४ करोडमा ठेक्का लागेको हो । चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ जेठ ३० गते पप्पु महादेव जेभीले ठेक्का पाएको हो । १३ वर्षसम्म पनि काम अलपत्र छ । खोला आवतजावत गर्न नागरिकले पैसा तिर्नु पर्दछ । मानिसको १० रुपैयाँ, साइकलको २० रुपैयाँ र मोटरसाइकलको एक सय रुपैयाँ ढाट राखेर रकम उठाइन्छ ।

गौरीगन्ज गाउँपालिकाले बर्सेनि नदी ठेक्का लगाउने गरेको छ । ठेक्का रकम २ लाख ५० हजार रुपैयाँ रहेको छ । बर्खामा डुङ्गा सञ्चालन गर्ने र हिउँदमा बाँसको फट्के बनाउने गरिएको छ । मर्मतसम्भारमै खर्च हुने ठेकदार ईश्वर माझी बताउनुहुन्छ ।

भद्रपुर-विराटनगर जोड्ने हुलाकी मार्ग निर्माण भइसकेको छ । दक्षिणी तराईको लाइफलाइन मार्ग भए पनि कन्काईको पुल नबन्दा त्यसको फाइदाबाट स्थानीय बासिन्दा र व्यवसायी वञ्चित छन् । विभिन्न जाति समुदायको संस्कृति समेत ओझेलमा परेको झापा गाउँपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश बताउनुहुन्छ ।

पुल निर्माणको अन्तिम म्याद २०८० असार मसान्त समेत गुज्रिइसकेको छ । ठेकेदारले म्याद थपको निवेदन समेत दिएको छैन । पुल निर्माण झनै अलपत्र परेको छ ।

पुल निर्माण कार्य भौतिक ६० प्रतिशत र आर्थिक ५५ प्रतिशत भएको जनाइएको छ । पुलदेखि पश्चिम दिशा झन्डै १ सय मिटर नदीले कटान गरेकाले तटबन्ध लागत झनै बढ्ने देखिन्छ । 


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement