काठमाडौं । सत्तारुढ दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरूपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रूपमा लिएको बताउनुभयो । उहाँले यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको बताउनुभयो । सत्तारुढ दलहरूमा यसबारेमा कुनै समस्या नरहेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो बैठकको मुख्य उद्देश्य भनेको १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान भएको छ । हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो । सरकारले अध्यादेश जारी गरेको छ । अध्यादेशले आम रूपमा एउटा सकारात्मक सन्देश सम्प्रेषण गरेको छ । निजी क्षेत्रलाई उत्साहित बनाएको छ । यसमा पनि छलफल भएको छ । सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन ।”
उहाँले १८ गतेको संसद्को बैठकमा प्रधानमन्त्री सहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने र संसद्को काम कारबाहीहरूमा सत्तारुढ दलहरू एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको बताउनुभयो ।