डाँडाभरि अम्रिसो, बजार नपाउँदा समस्या

माघ १, २०८१ |भुवन पाण्डे
डाँडाभरि अम्रिसो, बजार नपाउँदा समस्या

पाल्पा । डाँडैभरि अम्रिसो खेती गरेर मनग्य आम्दानी गर्ने सोच बनाएका पाल्पाका किसान उचित बजार नपाउँदा समस्यामा छन् । अम्रिसोको बहुउपयोगिता नजान्दा यहाँका किसानलाई 'ल्हासामा सुन छ कान मेरो बुच्चो' भने जस्तै भएको छ ।

विसं २०६७ सालमा पाल्पाको निस्दी गाउँपालिका-३ को काउले डाँडामा अम्रिसो खेती सुरू गरिएको थियो । खेर गएको डाँडामा अम्रिसो रोप्दै अहिले २४८ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । कबुलियती वनका रूपमा विकास गरिएकाले १९ वटा समूहका २२७ घरपरिवारले यसको उपभोग गर्दै आएका छन् । अम्रिसोको पात पशु आहार र फूललाई कुचोको रूपमा बिक्री गर्दै आएका छन् । तर, उचित बजार नपाउँदा सोचे जस्तो फाइदा भने छैन ।

सुक्खा समयमा हरियो घाँस हुने बहुवर्षीय डालेघाँस हो अम्रिसो । हिउँदको समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईवस्तुका लागि निकै उपयोगी हुन्छ । अम्रिसोमा ८ देखि १४ प्रतिशतसम्म प्रोटिनको मात्रा पाइने भएकाले पशु आहारका लागि समेत उपयुक्त मानिन्छ । त्यसैले त प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत यहाँका ६० घरपरिवारमा बाख्रा पालन कार्यक्रम विस्तार गरेको थियो ।

विसं २०७७ सालदेखि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन भएको कार्यक्रममा प्रदेश सरकारले करिब एक करोड ३३ लाख, स्थानीय सरकार र किसानहरूको करिब ६० लाख लागतमा गोठ सुधार र बाख्रा वितरण भएको थियो । पर्याप्त पशु आहारसँगै अन्य सम्भावना पनि भएकाले अहिले प्रदेशको कृषि र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले यस क्षेत्रको सम्भाव्यता अध्ययन गरिरहेका छन् ।

अम्रिसोको डाँठ कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ । तर सहज सडक सञ्जाल नहुनु र ग्रामीण भेग भएकाले उत्पादित बस्तुको उचित बजार भाउ पाउन सकस छ । 


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement