पर्यटन वर्षलाई गिज्याउने कमजोर पूर्वाधार

पुस २१, २०८१ |सुशीला पाठक|महाप्रसाद खतिवडा
पर्यटन वर्षलाई गिज्याउने कमजोर पूर्वाधार

मोरङ । कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षको रूपमा घोषणा गरेको छ । तर सरकारले पर्यटन प्रवर्द्धनका लागि आवश्यक आधारभूत सुधार समेत गर्न सकेको छैन । कतिसम्म भने संरचनात्मक सुधार र पूर्वाधार विकासमा सरकारको गति निकै सुस्त छ।

कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षको रूपमा घोषणा गरेको छ । कोशी प्रदेशमा धेरै पर्यटक आउने वातावरण बनाउन सरकारले पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रको विकास, विस्तार र नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी त्यसको विकास गर्ने, पर्यटकीय सेवाको गुणस्तरमा सुधार गर्ने लक्ष्य राखेको छ ।

वार्षिक साढे तीन लाखभन्दा बढीले यात्रा गर्ने ताप्लेजुङको पाथीभरा मन्दिर जाने सडक अन्तर्गत सुकेटारदेखि काफ्लेपाटीसम्मको ११ किलोमिटर सडक १३ वर्षअघि कालोपत्रे गर्ने प्रक्रिया सुरू गरे पनि अझै काम सकिएको छैन । सुनसरीको बराह क्षेत्र जाने साढे तीन किलोमिटर सडक विस्तार तथा कालोपत्रे गर्ने काम दुई वर्षअघि सुरू गरे पनि अझै सम्पन्न भएको छैन । 

धनकुटाको छिन्ताङमा २०६६ सालमा शहीद पार्क निर्माण सुरू गरे पनि अझै हेर्न लायक भएको छैन । नेपाल भित्रिने प्रमुख नाका विराटनगरको रानीमा थुप्रिएको फोहोरले पर्यटन वर्षलाई नै गिज्याइरहेको छ ।

मुलुकको आर्थिक अवस्था राम्रो नभएका कारण निर्माण व्यवसायीले समयमा भुक्तानी नपाएको, अस्थिर राजनीतिका कारण यस्ता समस्या आएको कोशी सरकारको स्विकारोक्ति छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले दुई प्रमुख दल मिलेर सत्ता सञ्चालन गर्न थालेकाले आगामी दिनमा यस्ता समस्यामा सुधार हुने दाबी गर्नुहुन्छ ।

पर्यटन वर्ष घोषणा गर्दैमा पर्यटक भित्रिँदैनन् । त्यसका लागि पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, सेवामा सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्नु पर्दछ । आएका पर्यटकको बसाइ लम्ब्याउन र यात्रालाई अविस्मरणीय बनाउन पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र सेवाको गुणस्तर वृद्धि गर्नु आवश्यक छ । 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।

Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement