दोलखाको पवटीमा व्यावसायिक सुन्तला खेती, एकै सिजनमा १२ करोडको सुन्तला बेच्ने लक्ष्य

पुस १४, २०८१ |केदार शिवाकोटी
 दोलखाको पवटीमा व्यावसायिक सुन्तला खेती, एकै सिजनमा १२ करोडको सुन्तला बेच्ने लक्ष्य

दोलखा । दोलखाको मेलुङ गाउँपालिका-१ पवटीका किसान सुन्तला खेतीबाट आत्मनिर्भर बनेका छन् । त्यहाँका ४ सयभन्दा बढी किसान परिवारले सुन्तला खेतीबाट हुने आम्दानीले आफ्ना सन्तानलाई उच्च शिक्षाका लागि विदेश पठाएका छन् । गाउँ छाडेका युवालाई पनि सुन्तला खेतीले गाउँ नै फर्काएको छ ।

शिवहरी राउतको यो बगैँचा सुन्तला व्यवसायीले ३ लाख २५ हजारमा बैना गरिसकेका छन् । यही बगैंचाबाट हुने आम्दानीले उहाँले जेठी छोरीलाई अध्ययनका लागि जापान पठाउनुभएको छ । हरेक वर्ष सुन्तला खेती विस्तार भइरहेको दोलखाको मेलुङ गाउँपालिका-१ पवटीका घरघरमा अहिले आत्मनिर्भरताका आशालाग्दा कथा छन् ।

भूकम्पपछि गाउँ छाडेर काठमाडौं बस्दै आउनुभएका पवटीका जगतराज गनिकालाई सुन्तलाले घर फर्कायो । ४ वर्षदेखि उहाँ व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएको छ । पवटीमा लोकप्रिय भएको सुन्तला खेतीले युवालाई स्वरोजगारीको बाटो खोलिदिएको छ । यसका उदाहरण हुनुहुन्छ- अन्जन बस्नेत । उहाँ गाउँमा उत्पादित सुन्तला खरिद गरेर बजारमा लगी बिक्री गर्नुहुन्छ ।

पवटीलाई गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषणा गरेर किसानलाई पूर्ण व्यावसायिक बनाउने अभियान चलाएको छ । यहाँका किसानलाई हरेक वर्ष २० हजार नयाँ बिरुवा रोप्न लगाएर सुन्तलाको उत्पादन बढाउने लक्ष्य लिइएको छ ।

पवटीका सुन्तला यतिखेर भारतीय बजारमा पुग्न थालेका छन् । सुन्तलाबाट आत्मनिर्भर बनेको पवटीमा यो सिजनमा १२ करोड रुपैयाँ भित्रिने आँकलन गरिएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement