कृषि लगानी दशक घोषणाको ६ महिनासम्म पनि बनेन लगानीको मोडालिटी, सरकार नै अलमलमा

मंसिर २२, २०८१ |सुमन पन्थ
कृषि लगानी दशक घोषणाको ६ महिनासम्म पनि बनेन लगानीको मोडालिटी, सरकार नै अलमलमा

काठमाडौं । बर्सेनि भइरहेको साढे १४ खर्बको व्यापार घाटा कम गर्ने र कृषिबाटै औद्योगिकरणको यात्रा तय गर्ने महत्वाकांक्षासहित सरकारले कृषि लगानी दशक घोषणा गरेको ६ महिना बितिसकेको छ । तर यसको कार्यान्वयन कसरी हुन्छ ? सरकारी निकायहरु छलफलमै छन् । कृषिमा आन्तरिक लगानी कसरी बढाउने र बाहृय लगानी कसरी भित्र्याउने भन्ने मोडालिटी बन्नै सकेको छैन ।

सरकारले आगामी दशकलाई कृषि लगानी दशक घोषणा गरेको भए पनि कृषिमा लगानीको खाका दिनै सकेको छैन। देशको कुल गार्हस्थ उत्पादनमा वृद्धिदेखि कृषिबाटै औद्योगिकरणको यात्रा तय गर्ने उद्देश्यका साथ सरकारले यसै आर्थिक वर्षको बजेटमार्फत् लगानी दशक घोषणा हो । तर ६ महिनासम्म सरकारी निकाय छलफलमै छन्, परिणाम आइसकेको छैन ।

अहिले अन्तर्राष्ट्रिय बजारमा चिया, कफीदेखि खाडी मुलुकसम्म हरियो तरकारीसम्मको उच्च माग छ । केही व्यवसायीले निकासी गरेपनि दिगो हुन सकेको छैन । सम्भावना भएका कृषि उपजको उत्पादन वृद्धिको योेजनामा लाग्नु पर्नेमा सरोकारवालाहरुको भनाइ छ ।

सरकार भने लगानी दशक घोषणा भइसकेको हुँदा कुन-कुन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्राउने भन्ने विषयमा छलफल भइरहेको बताउाछ । कृषि नीतिको मध्यावधि समीक्षा गरेको कृषि मन्त्रालयले यसै साता लगानी दशकमा क्षेत्र पहिचानको खाका ल्याउने बताएको छ । कुन-कुन बाली तथा वस्तुमा निजी लगानीलाई बढावा दिने, उत्पादनदेखि प्रशोधनसम्मका मूल्य शृंखलामा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा विषयगत मन्त्रालयहरुसंग छलफल गरि अघि बढ्ने कृषि तथा पशुपन्छी मन्त्रालयका अधिकारीको भनाइ छ ।

नेपालमा कृषिको पर्याप्त सम्भावना भएपनि वार्षिक ३ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भइरहेको छ । बर्सेनि भइरहेको साढे १४ खर्बको व्यापार घाटा कम गर्ने र रोजगारीका अवसर सिर्जना गर्नका लागि पनि कृषि लगानी दशक कागजमा होइन व्यवहारमा छिटो कार्यान्वयन गर्नु मुख्य आवश्यकता हो ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement