सुनसरी र मोरङको औद्योगिक क्षेत्रमा दैनिक आठ घण्टासम्म लोडसेडिङ

पुस ६, २०८१ |महाप्रसाद खतिवडा
सुनसरी र मोरङको औद्योगिक क्षेत्रमा दैनिक आठ घण्टासम्म लोडसेडिङ

मोरङ । सुनसरी र मोरङको औद्योगिक क्षेत्रमा दैनिक आठ घण्टासम्म लोडसेडिङ हुन थालेको छ । जसले गर्दा उद्योग उत्पादन कटौती गर्न बाध्य छन् । यसले बजारमा वस्तु अभाव हुने, मूल्य बढ्ने, बेरोजगारी बढ्ने र चोरीपैठारी बढ्ने खतरा बढेको छ । 

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ छैन भने पनि सुनसरी मोरङ औद्योगिक करिडोरमा दैनिक सरदर चार घण्टासम्म बिजुली कटौती गर्दै आएको थियो । पहिले औद्योगिक क्षेत्रमा बिजुली नदिँदा पनि लोडसेडिङ छैन भन्ने प्राधिकरणको नेतृत्व भने अहिले घुमाउरो भाषामा लोडसेडिङ भएको स्वीकारे पनि मूल्य बढाउन उद्योगीले नै लोडसेडिङको हल्ला चलाएको आरोप लगाउँछ ।

सुनसरी-मोरङ औद्योगिक क्षेत्रमा प्राधिकरणले हाल बिहान पाँच बजेदेखि नौ बजेसम्म र साँझ पनि पाँच बजेदेखि नौ बजेसम्म गरी दैनिक आठ घण्टा बिजुली काट्न थालेको छ । प्राधिकरणले बिजुली दिएको समयमा पनि झ्यापझ्याप बिजुली जानेआउने भइरहन्छ । आउँदा पनि कम भोल्टेजमा गुणस्तरहीन बिजुली आउने गरेको छ ।

लोडसेडिङको मार सबै उद्योगमा परे पनि सबैभन्दा बढी मारमा स्टिल, सिमेन्ट र प्लाष्टिक उद्योग परेका छन् । उत्पादनको क्रममा रहेको कच्चा पदार्थ बिग्रिने, मेसिन तताउन नै दुई तीन घण्टासम्म लाग्ने भएकाले सबैभन्दा बढी क्षति यी उद्योगलाई भएको हो । लोडसेडिङका कारण उद्योगले दुई तिहाइ उत्पादन कटौती गरेका छन् । जसले गर्दा उद्योगहरूले दैनिक ज्यालादारीका मजदुर कटौती गर्न थालेका छन् । यसले बजारमा वस्तुको अभाव हुने, मूल्यवृद्धि हुने र चोरी पैठारी बढ्न सक्ने उद्योगी व्यसायीको तर्क छ ।

लोडसेडिङका कारण उद्योग कलकारखानाका मोटर जल्ने, प्यानल बोर्ड सर्ट हुने, एमसीभी बिग्रिने , महङ्गा मेसिनहरू बिग्रिने , जल्नेलगायतका समस्या आएर ठूलो नोक्सानी हुने उद्योगी व्यवसायीको गुनासो छ । यो क्षेत्रमा पिक आवरमा दुई सय ६० मेगावाट बिजुलीको माग छ । गत बर्खामा बिग्रिएको माथिल्लो तामाकोशी जलविद्युत परियोजनाबाट अझै उत्पादन सुरु नभएको, काबेलीको एक सय ९५ मेगावाट क्षमता भए पनि ५० मेगावाट मात्र उत्पादन भइरहेको, कोशी करिडोरको एक २५ मेगावाट क्षमता भए पनि ४५ मेगावाट मात्र उत्पादन भएका कारण लोडसेडिङ गर्नुपरेको प्राधिकरणको भनाइ छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement