बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु भएर शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । बाजुराका नौ वटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांक अनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ । यस्तै सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताउनुभयो । भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा १२३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नं ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिनुभयो ।
वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकीन गर्ने काम भइरहको उहाँले बताउनुभयो । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकी मार्फत संकलन भइरहेको जनाइएको छ । प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गर्नुभयो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।