कांग्रेस सभापतिमा चुनाव लड्ने गरी अघि बढेको छु : शेखर कोइराला

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस सभापतिमा चुनाव लड्ने गरी अघि बढेको छु : शेखर कोइराला

कैलाली । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १५औं महाधिवेशनमा आफू पार्टी सभापतिमा चुनाव लड्ने तयारीका साथ अघि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले आगामी महाधिवेशनमा चुनाव लड्ने र जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।

साथै, महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नभएको उहाँको भनाइ थियो ।

वर्तमान सरकाले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाउँदै नेता कोइरालाले मुलुकमा राजनीतिक, आर्थिक र सांस्कृतिक अवस्था एकदम नाजुक रहेको भन्दै त्यसलाई नेपाली कांग्रेस र नेकपा एमालेले सुधार गर्नुपर्ने बताउनुभयो । संविधान संशोधन गर्ने मूल अजेन्डाका साथ सरकार गठन भए पनि त्यसतर्फ सरकारको ध्यान नगएको उहाँको भनाइ थियो ।

कांग्रेस र एमालेले मात्र चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै उहाँले त्यसका लागि अन्य दलहरूसँग पनि छलफल गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने उहाँले बताउनुभयो ।

शुक्रबार धनगढी आइपुग्नुभएका नेता कोइरालाले आफू निकट सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता कार्यकर्तालाई धनगढी बोलाउनुभएको थियो । नेता कोइरालाले सबै जिल्लाका नेता कार्यकर्तासँग छुट्टाछुट्टै भेट गर्दै आगामी महाधिवेशनको तयारीमा जुटन निर्देशन दिनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement