होटल र पर्यटकीय पूर्वाधार ४० प्रतिशतले बढ्दा पनि अकुपेन्सी बढ्नै सकेन

सरकारले तत्काल पर्यटन पुनरोत्थानको कार्यक्रम नल्याए खर्बौंको लगानी जोखिममा पर्ने व्यवसायीको चेतावनी
पुस ४, २०८१ |भरत रावल
होटल र पर्यटकीय पूर्वाधार ४० प्रतिशतले बढ्दा पनि अकुपेन्सी बढ्नै सकेन

काठमाडौं । सरकारले २०२३ देखि २०३३ सम्मका लागि भ्रमण दशक र २०२५ लाई विशेष भ्रमण वर्ष घोषणा गरेको छ । तर, पूर्वाधार विकास र कार्यक्रम कार्यान्वयनमा सरकारले चासो नदेखाएपछि लगानी जोखिममा पर्ने चिन्तामा व्यवसायी छन् । नेपालको पर्यटन कोभिड अघिको तुलनामा ९६ प्रतिशतसम्म पुर्नउत्थान भए पनि होटेल र पर्यटकीय पूर्वाधार ४० प्रतिशतले बढ्दा अकुपेन्सी भने बढ्नै नसकेको पर्यटन बोर्डको भनाइ छ ।

सरकारले तत्काल पर्यटन पुनर्उत्थानको रणनीति नबनाउने हो भने पर्यटन उद्योगमा भएको अरबौंको लगानी जोखिममा पर्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । तर सरकार भने आत्तिनुपर्ने स्थिति नभएको बताइरहेको छ ।

केही वर्षयता नेपालमा स्वदेशीदेखि विदेशी चेन होटेल र रिसोर्ट धमाधम खुलिरहेका छन् । पर्यटन विभागको तथ्यांक अनुसार अहिले देशभर २ सय १२ तारे होटेल, १ सय ३२ रिसोर्ट र २६ वटा क्यासिनो छन् । त्यस्तै ३ सय ६८ वटा होटेल प्रदेश मातहत छन् । यीबाहेक सरकारी निकायमा दर्ता नभएका होटल तथा रेस्टुरेन्टको संख्या दर्जनौं छन् । पर्यटन क्षेत्रमा मात्रै २० खर्बभन्दा बढी लगानी भएको अनुमान छ, जसमा २ खर्ब ४१ अर्बभन्दा बढी लगानी त बैंकहरुको मात्रै छ । तर व्यवसायीको अपेक्षाअनुसार सरकारले पर्यटक भित्र्याउने रणनीति बनाउन नसक्दा लगानीको जोखिम बढेको व्यवसायीको गुनासो छ ।

अर्बौं लगानी भएका पाँच तारे होटेल नै २५ पुगिसकेका छन् । त्यस्तै आधा दर्जनभन्दा बढी पाँच तारे होटेल निर्माणको चरणमा छन् । अहिले सञ्चालनमा रहेका अधिकांश होटेल ५० प्रतिशत अकुपेन्सीमा मात्रै चलिरहेका छन् । ४० प्रतिशत अकुपेन्सीसम्म होटेलले सञ्चालन खर्चमात्रै धान्न सक्छ ।

कोभिडकालपछि कुल पर्यटकमध्ये भारतीयको संख्या ६० प्रतिशत रहेकोमा जीर्ण सडक र हवाई दुर्घटनाका कारण १८ प्रतिशतमा झरेको छ भने चिनियाँ पर्यटक पनि घटेका छन् । मुख्य बजार नै गुम्ने डरले चिन्तित बनेका व्यवसायीले यही अवस्था रहे बैंकको किस्ता तिर्नसमेत नसकिने बताउँदै आएका छन् । तर राष्ट्र बैंक अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताउँछ ।

२०७४ सालमा नेपाल भ्रमण वर्ष २०२० घोषणा हुँदा एक सय २९ हाराहारीमा रहेका पर्यटकीय तारे होटेलको संख्या अहिले ३ सयभन्दा बढी पुगिसकेको छ । भ्रमण वर्ष घोषणाले उत्साहित भएर पर्यटन व्यवसायीले धमाधम लगानी गरे । तर कोभिडले भ्रमण वर्ष स्थगनमात्रै भएन, त्यसयता शिथिल बनेको पर्यटन क्षेत्र अझै पूरानो स्थितिमा फर्कन सकेको छैन । कोभिडकालपछि पनि भारतीय र चिनियाँ पर्यटकलाई लक्षित गर्दै व्यवसायीले धमाधम लगानी गरे पनि दुवै देशबाट आउने पर्यटक पछिल्ला ३/४ महिनायता घटेका छन् । 


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement