काठमाडौं । जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत गरिने भएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडबक्र्स)मा ठूलो क्षति पुर्याएको थियो ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो । दुईवटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । यसका लागि आंशिक रुपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने जनाइएको छ । यसैगरी कल्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गर्ने काम समानान्तर रुपमा अगाडि बढाइने छ ।
दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइने छ । यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।
विद्युत् कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गर्नुभयो ।
‘दायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी वर्षायाम सुरु हुनुभन्दा पहिले नै सक्ने गरी काम अगाडि बढाऔं,' उहाँले भन्नुभयो, 'यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर भएर मर्मत सम्भारमा लागौं ।’ अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाब उच्च भएपछि असोज ११ गते साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो ।