काठमाडौं । ईपीएस प्रणाली मार्फत् कोरिया जानका लागि भाषा तयारी गर्नेको संख्या लाखौं छ । २१ हजारभन्दा धेरै युवाले त भाषा परीक्षा उत्तीर्ण नै गरेका छन् जो कोरिया जाने प्रतीक्षा सूचीमा छन् । तर कोरियाले भने नेपाली श्रमिक निश्चित कोटा मात्रै लिने गरेको छ । जसकारण भाषा परीक्षा पास भएर पनि कोरिया जान नपाएकाको संख्या बढ्दो छ । भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइने भने होइन ।
कोरियाली भाषा परीक्षा पास गरेर कोरिया जान नपाएका युवा दैनिक जसो ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयमा धाउने गरेका छन् । कतिपय युवा त सात वर्षदेखि प्रक्रिया रहे पनि जान पाएका छैनन् । ईपीएस कार्यालयका अनुसार भाषा परीक्षा पास भएका २१ हजार युवा अहिले रोजगारदाताको रोस्टरमा छन् । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म रोस्टर अनुसार कोरिया जाने पालो नआए भाषा योग्यताको अवधि नै सकिन्छ । कोरिया जाने प्रक्रियाका लागि फेरि सुरूदेखिको प्रक्रियामा बस्नुपर्ने हुन्छ ।
उत्पादनमूलक क्षेत्रका झन्डै १० हजार, कृषि क्षेत्रका आठ हजारभन्दा बढी र पानीजहाज क्षेत्रतर्फ करिब तीन हजार तीन सय ५५ जान चाहने युवा छन् । प्रतीक्षा सूचीमा रहेका युवाले चाँडोभन्दा चाँडो 'लेबर कन्ट्रयाक्ट’ मगाइदिन माग गरे पनि ईपीएस कार्यालयले भने प्रक्रिया अनुसार नै काम हुने जनाएको छ ।
कोरिया सरकारले एक हजार श्रमिक लैजाने हो भने तीन हजारभन्दा धेरैलाई रोस्टरमा राख्ने गरेको छ । आफ्ना रोजगारदाताले उपयुक्त श्रमिक छनोट गरून् भनेर धेरै श्रमिकलाई रोस्टरमा राख्ने गरेको हो । नेपाली युवाले भने चाहिनेभन्दा धेरै पास गराएर समय मात्रै बर्बादी गराएको बताएका छन् ।
सन् २००८ देखि सरकारी तवरमा नेपाली युवा कोरिया गइरहेका छन् । अहिलेसम्म करिब एक लाख १२ हजार युवा कोरिया गइसकेका छन् । नेपाल सरकारले भने भाषा परीक्षामा पास भएका जति सबै युवालाई लैजान कोरिया सरकारलाई आग्रह गरिरहेको छ । तर कोरियाले सुनुवाइ गरेको छैन । यस वर्ष नेपाल र कोरियाबीच समझदारीपत्रको नवीकरण हुँदै छ । त्यस वेला आफूले उठाउँदै आएका माग सम्बोधन गर्नुपर्ने माग श्रमिकको छ ।