एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको पुनः बोलपत्र आह्वान

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको पुनः बोलपत्र आह्वान

काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गरिने प्रसारण लाइनका लागि गत वर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो ।

लप्सीफेदी-रातमाटे-नयाँ हेटौंडा, रातामाटे-नयाँ दमौली र नयाँ दमौली-नयाँ बुटवल गरी तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ । एमसीए नेपालले आज विज्ञप्ति जारी गर्दै अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको विस्तृत समीक्षापछि पुनः आह्वान गरिएको जनाएको छ । बोलपत्रमा परिमार्जित डिजाइन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताहरूको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधानहरू समेटिएको छ ।

एमसीए नेपालले बुटवल-गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि एक सय २३ दशमलव ६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमी खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेकाले परिमार्जित प्रावधानका कारण बाँकी दुई सय ९७ किमी प्रसारण लाइन निर्माणका लागि बोलपत्र प्रक्रिया सहज रूपमा अघि बढ्ने बताउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement